२०८३ वैशाख १२ , शनिबार

एमाले कर्णाली अधिवेशनको तयारी तीव्र, यी हुन् नेतृत्वका आकांक्षी



कुलेन्द्र शाही,सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि तयारी तीव्र पारिएको छ । पार्टीको कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी असोज १० र ११ गते सुर्खेतको वीरेन्द्रनगरमा हुँदैछ । अधिवेशन नजिकिएसँगै कर्णालीमा नेताहरू पनि आन्तरिक छलफलमा व्यस्त देखिन्छन् ।

नेतृत्वबारे विभिन्न अड्कलबाजी पनि शुरु भएका छन् । प्रदेशको कमाण्ड सम्हाल्न नेताहरूबीच आन्तरिक रस्साकस्सी शुरु भएको छ । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव गरी ५ पदाधिकारीसहित नयाँ कमिटी बनाउनेछ । सहमति प्रयास गर्दा पनि लुम्बिनीमा अध्यक्षसहितका केही पदाधिकारीको टुंगो मतदानबाट लाग्यो ।

यहाँ पनि आकांक्षीको दाबी हेर्दा चुनावको सम्भावना बढेको नेताहरू बताउँछन् । नेतृत्वका लागि नेताहरूले आफू निकट नेता, कार्यकर्ताहरूसँग छलफल चलाउन थालेका छन् । साथै प्रदेशको नेतृत्व कसले पाउँछ भन्ने विषयले राजनीतिक वृत्तमा चर्चा परिचर्चा हुन थालेको छ । राजधानी वीरेन्द्रनगरमा हुने अधिवेशनले निर्वाचनमार्फत नेतृत्व चुन्ने बताइएको छ ।

एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले विभिन्न समितिले अधिवेशनको तयारी गरिरहेको बताए । प्रदेश अध्यक्ष कार्यकारी भूमिकामा रहने र पोलिटब्युरो सरहको हैसियत हुने भएका कारण पनि उक्त पदका लागि केन्द्रीय सदस्यहरु पनि दाबेदार देखिन्छन् ।

यथाअवस्थामा कर्णाली प्रदेश नेतृत्वको लागि पोलिटब्युरो सदस्य सल्यानका गुलाबजंग शाह, दैलेखका लक्ष्मीप्रसाद पोखरेल, केन्द्रीय सदस्यहरू कालिकोटका मीनबहादुर शाही, नगीन्द्र शाही, दैलेखका विष्णु रिजाल, राजबहादुर बुढा, जाजरकोटका निरज आचार्य सुर्खेतका नवराज रावत, धुर्व शाही, हुम्लाका दल रावललगायतका नेताहरूको नाम चर्चामा छ ।

यस्तै कर्णालीका पूर्वसभामुख राजबहादुर शाहीले पनि अध्यक्षका लागि चाहना व्यक्त गरेका छन् । पार्टी केन्द्रले प्रदेश सभा सदस्य, प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूले अध्यक्ष र सचिवका लागि उम्मेदवार बन्न रोक लगाएको छ । उक्त नीतिका कारण कतिपय आकांक्षी नेताहरू उम्मेदवारको लिस्टबाट बाहिरै बसेका छन् । वर्तमान अध्यक्ष विनोदकुमार शाह, पोलिटब्युरो सदस्य भैरव सुन्दर श्रेष्ठलगायतका नेताहरू उम्मेदवार हुन् पाउँदैनन् ।

श्रेष्ठ राष्ट्रिय सभा संसदीय दलका प्रमुख सचेतक हुन् भने शाह प्रदेश सभा सदस्य हुन् । प्रदेश अध्यक्षको हैसियत पोलिटब्युरो सदस्य बराबर हुने र पद कार्यकारीसमेत हुने भएकोले केन्द्रीय तहका नेताहरूको पनि रुचीको विषय बनेको एक नेता बताउँछन् । नाम चर्चामा आएका कतिपय नेताहरू समेत प्रतिनिधि छनोटमै पर्ने–नपर्ने टुंगो छैन ।

एमालेका एक नेताले प्रतिनिधि छनोटपछि मात्रै अध्यक्षको आंकलन गर्न सकिने, तर अहिले नै यो अध्यक्ष हुन्छ भनेर भन्न सकिने अवस्था नभएको जिकिर गरे । सचिवका लागि सुर्खेतका तारा केशर गौतम, टेकेन्द्रकुमार बस्नेत, दैलेखका रुद्र शाहीलगायतले लबिङ गरिरहेको बताइन्छ । अधिवेशन नजिकिएसँगै यतिबेला तयारीलाई पनि तीव्र पारिएको छ ।

अधिवेशनमा करिब ६ सय ५० प्रतिनिधिको सहभागिता रहने छ । अधिवेशनको प्रतिनिधि छनोट अनुपात भूगोल खुलातर्फ १०० पार्टी सदस्य बराबर १ हुने, दलिततर्फ ७५ पार्टी सदस्य बराबर १ जना प्रतिनिधि हुने र छनोट भएका प्रतिनिधिमध्ये एक तिहाइ महिला सङ्ख्या अनिवार्य हुनुपर्ने बताइएको छ । प्रतिनिधि छनोटको आधार भूगोलका लागि पालिका र दलिततर्फका लागि प्रदेश निर्वाचन क्षेत्र रहने छ ।

साथै दलित पार्टी सदस्यले दलित वा भूगोलमध्ये कुनै एक क्षेत्र रोज्न सक्नेछन् । प्रतिनिधि छनोटको व्यवस्थापन भूगोलको लागि सम्बन्धित पालिका कमिटी र दलितका लागि सम्बन्धित प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटीले गर्नेछ । शेष रहेको ५० प्रतिशत अंक बराबर एक जना प्रतिनिधि थप हुने व्यवस्थासमेत गरिएको अध्यक्ष शाहले बताए ।

यता नेकपा एमालेका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीको कर्णाली प्रदेश समितिमा दश प्रतिशत युवाको सहभागिता सुनिश्चित गरिने बताएका छन् । उनले नेतृत्व चयनका लागि जतिसक्दो सहमतिको प्रयास हुने पनि बताएका छन् । उनले यदि सहमति नभएको खण्डमा नेकपा एमाले लोकतान्त्रिक अभ्यासलाई मान्यता दिने पार्टी भएकाले सोही आधारमा भए पनि नेतृत्व चयन गरिने बताएका छन् ।

उनले कर्णालीमा गुट उपगुट भएको कुप्रचार गरिएता पनि कुनै गुट उपगुट नभएको दाबी गरेका छन् । एमालेले कर्णाली प्रदेश अधिवेशनका लागि भदौ ३० गते प्रतिनिधि चयन गरिने छ । प्रदेश अधिवेशनको तयारीका लागि प्रदेश इन्चार्ज, प्रदेशका पदाधिकारी, कर्णाली प्रदेशका केन्द्रीय सदस्य र एमाले कर्णालीका नेता कार्यकर्ता तोकिएको जिम्मेवारीअनुसार काममा जुटेको नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : २०८० भदौ २२ गते शुक्रबार