सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च भएमात्र जनमुखी सेवा प्रवाह हुने बताएका छन् । बीसौँ निजामती सेवा दिवस, २०८० को अवसरमा शुक्रबर सुर्खेतको वीरेन्द्रनगरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले जननिर्वाचित प्रतिनिधिले राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च हुने गरी काम गर्नुपर्नेमा जोड दिए ।
‘कर्मचारीलाई राजनीतिक आग्रह–पूर्वाग्रहको दृष्टिले हेरिनुहुँदैन, कर्मचारीले पनि सेवा प्रवाह दिन कुनै कसर बाँकी राख्नुहुँदैन’, उनले भने । कुनै दलप्रति आस्था राख्न पाउने उनीहरुको ट्रेड युनियन अधिकार भएको उल्लेख गर्दै उनले प्रभावकारी सेवा प्रवाहका लागि कर्मचारीको मनोबल बढ्ने वातावरण बनाउन प्रदेश सरकार लागि परेको बताए ।
मन्त्री सिंहले आजको दिनले कर्मचारीलाई पेशाप्रति प्रतिबद्ध बन्न, सेवा प्रवाहलाई प्रभावकारी र जनमैत्री बनाउन प्रेरणा दिएको विश्वास व्यक्त गरे । सेवा प्रवाहलाई सरल, सहज र चुस्त, दुरुस्त बनाउनुपर्नेमा जोड दिँदै मन्त्री सिंहले जनतालाई केन्द्रमा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिए ।
उनले भने, ‘आजका नागरिक सरल व्यवहार र चुस्त सेवा चाहन्छन् । सुशासन, पारदर्शिता, भ्रष्टाचारमुक्त समाज र झन्झटमुक्त सेवा चाहान्छन् । यसतर्फ तपाईं हामी सबैले ध्यान दिन जरुरी छ ।’ सरकार र जनताको भेट गराउने पुल निजामती क्षेत्र भएकाले यसलाई व्यवस्थित एवं समुन्नत बनाउन सबै सरोकारवाला लाग्नुपर्ने उनको भनाइ थियो ।
सरकारी सेवा प्रवाह र राजनीतिक व्यवस्थाप्रति जनतामा देखिएको निराशा अन्त्य गर्न पनि कर्मचारीलाई अत्यन्तै लगनशील एवं जिम्मेवार भएर लाग्न सुझाएका मन्त्री सिंहले समृद्ध राज्य निर्माणका लागि स्थायी सरकारको महत्वपूर्ण भूमिका रहेको बताए ।
सङ्घ सरकारले बिहीबार मन्त्रिपरिषदबाट निजामती सेवा सम्बन्धमा बनेको विधेयक सदनमा पेस गर्ने गरी अगाडि बढाएको उल्लेख गर्दै उनले प्रदेश सरकारले पनि प्रदेश निजामती सेवा विधेयक सदनमा पेश गरी छलफलका लागि समितिमा गएको र केही समय पछि छिट्टै पारित हुने बताए ।