२०८३ वैशाख १२ , शनिबार

द्वन्द्वपीडितको गुनासो : ‘हात थापेर माग्ने मगन्ते जस्तै भयौ’



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा सक्रमणकालीन न्याय सम्बन्धी बहुसरोकारवालासँग संवाद कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार वीरेन्द्रनगर–९ मा मानव अधिकार महिला लागि एकल महिला समुह सुर्खेतको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उपस्थित भएका सहभागीहरूले सङ्क्रमणकालीन न्याय निरूपणका लागि राजनीतिक दल र नेताहरूको रुचि नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

लोकतन्त्रको १७ वर्ष पुरा भएकोमा सङ्क्रमणकालीन न्यायलाई अलपत्र पारिएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका हुन् । द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जालको प्रदेश संयोजक शीतल सिंह राठौरले न्यायालय नै पीडित मुखी नभएको हुँदा न्यायमा पीडित मुखी नै छुट्ने गरेको हुँदा आफूलाई निकै चिन्ता लागेको बताइन् ।

उनले द्वन्द्व पीडितहरू हात थापेर माग्ने मगन्ते जस्तै भएको बताइन् । उनले द्वन्द्व पीडितहरूको लागि स्वास्थ्य बिमा बनाएपनी भने अनुसार सेवा सुविधा नपाएको गुनासो गरिन् । साथै संयोजक सिंहले द्वन्द्व पीडितसँग परामर्श गरेर मात्रै कर्णाली सरकारले विधेयक बनाउन आग्रह गरेकी छिन् । यस्तै वीरेन्द्रनगर नगरपालिका–४ का वडा सदस्य अमर कार्कीले द्वन्द्व पीडितहरूले न्याय नपाएको भन्दै निकै आक्रोश व्यक्त गरेका छन् ।

उनले सङ्क्रमणकालीन न्याय विषयलाई नेताहरूले सत्ताको सिँढी बनाएका आरोप लगाएका छन् । उनले द्वन्द्व पीडितमा पनि नेता तथा सरकारले पार्टी अनुसार न्यायदिने गरेको आरोप लगाएका छन् । उनले नेताहरूको सत्ता मोहले न्यायको आशा समेत मरेको बताएका छन् ।

सदस्य कार्कीले सङ्क्रमणकालीन न्यायजस्तो विषयलाई लम्ब्याएर राजनीतिक दलहरूले पीडितलाई न्याय दिनुको साटो विभिन्न आयोगहरू बनाएर त्यसलाई टार्ने प्रयास गरिरहेको भन्दै त्यस विरुद्ध एकताबद्ध भएर मानवअधिकारको प्रवर्द्धनका लागि लाग्न पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् ।

यस्तै प्रदेश मामिला समितिकी सभापति कल्याणी खड्काले आफू कानुन निर्माण गर्ने ठाउँमा भएको बताउँदै उनले पीडितको पक्षमा ऐक्यबद्ध भएर लाग्ने बताएकी छिन् । उनले आफू पनि द्वन्द्व पीडित भएकोले जति सक्दो द्वन्द्व पीडितहरूको लागि न्यायको पहल गर्ने बताएकी छिन् । उनले आफूले कानुन निर्माण गर्दा वास्तविक कानुन निर्माण गर्ने गरी पहल भइरहेको बताएकी छिन् ।

मानव अधिकारका लागि महिला एकल महिला समुह सुर्खेतकी ममता मता नकालको अध्यक्षतामा भएको कार्यक्रममा मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेश संयोजक पीताम्बर ढकाल, मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक ललितजंग शाही, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश संयोजक नारायण प्रसाद सुवेदी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधि कमल सापकोटा, वडा नम्बर ८ का वडा अध्यक्ष टिकाराम शर्मा, वडा नम्बर १ का वडा सदस्य दीपेश कार्की लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन समुहकी कार्यक्रम उमा भट्टराईले सञ्चालन गरेकी थिइन् ।

प्रकाशित मिति : २०८० भदौ २२ गते शुक्रबार