२०८३ वैशाख १२ , शनिबार

जाजरकोटमा अख्तियारको टोलीमाथि आक्रमण



सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीमाथि जाजरकाेटमा आक्रमण भएको छ । भेरी नगरपालिका–५ को निर्माणाधीन वडा कार्यालयको भवन निरीक्षण गर्न पुगेको टोलीमाथि आक्रमण भएको हो ।

आक्रमणबाट एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख सन्तोष रोकाले निरीक्षणका लागि अख्तियारबाट पाँच जनाको टोली जाजरकोट आएको बेला उनीहरूमाथि आक्रमण भएको बताए ।

उनले चालक मानबहादुर ठाडा मगर घाइते भएको जानकारी दिए ।अख्तियारको गाडी चालक मानबहादुर वीरेन्द्रनगर नगरपालिका–११ का हुन् । उनलाई मुक्काले हानी घाइते बनाइएको प्रहरीले बताएको छ । उनको अहिले स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा उपचार भइरहेको रोकाले बताए ।

उनका अनुसार घटनामा संलग्न सोही ठाउँका २४ वर्षीय वीरेन्द्र चन्द, किरण शाही, चक्र बहादुर मल्ललाई प्रहरीले पक्राउ गरिसकेको छ । भवन निर्माणमा अनियमितता भएको विषयमा अख्तियारको टोली निरीक्षण गर्न त्यहाँ पुगेको थियो । आवश्यक कागजातहरूको अध्ययन गरिरहेका बेला आक्रमण भएको डीएसपी रोकाले बताए ।

प्रकाशित मिति : २०८० भदौ २२ गते शुक्रबार