२०८३ वैशाख १२ , शनिबार

पत्रकार चिन्तामणि कँडेलद्वारा १ लाख ११ हजारको अक्षयकोष स्थापना



सुर्खेत । सुर्खेतमा पत्रकारले नै पत्रकारका लागि पहिलो पटक अक्षयकोष स्थापना गरेका छन् । सुर्खेतमा लामो समयदेखि पत्रकारिता गर्दै आएका चिन्तामणी कँडेलले आफ्नो जन्मदिनको अवसरमा अक्षयकोष स्थापना गरेका हुन् । नेपाल प्रेस युनियन सुर्खेत शाखाबाट वितरण हुनेगरी पत्रकार कँडेलले शनिवार आफ्नो जन्मदिनको अवसरमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

पत्रकार कँडेलले उक्त अक्षयकोषमा जम्मा गर्ने गरी एक लाख ११ हजार एक सय ११ रुपैयाँको चेक प्रेस युनियन सुर्खेतका अध्यक्ष मधुवन विसीलाई हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरणपछि बोल्दै उनले उक्त अक्षयकोषबाट प्रत्येक वर्ष एकजना क्रियाशिल पत्रकारलाई पुरस्कृत गर्ने समेत बताएका छन् ।

‘मैले १८ बर्षदेखि पत्रकारिता गर्दै आएको छु ।’ उनले भने, ‘पत्रकारिता क्षेत्रमा क्रियाशिल व्यक्तीहरुका पिडा र समस्या मलाई थाहा छ, अझै कर्णालीमा पत्रकारिता गर्न झनै समस्या छ, त्यसैले मैले यो अक्षय कोषबाट थोरै भएपनि क्रियाशिल पत्रकारलाई पुरस्कृत गर्न चाहान्छु, सम्मानित गर्न चाहान्छु ।’

यस्तै, नेपाल प्रेस युनियन सुर्खेतका अध्यक्ष विसीले पत्रकारिता क्षेत्रमा लागेका व्यक्तीहरुलाई यो अक्षय कोषबाट दिइने पुरस्कारले प्रोत्साहन मिल्ने भन्दै पत्रकार कँडेलको उच्च प्रशंसा गरे । यस्तै शनिबार नेपाल प्रेस युनियन सुर्खेत शाखाले तिज सद्भाव कार्यक्रम समेत सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपाल प्रदेश युनियन सुर्खेत शाखाका अध्यक्ष मधुवन बिसीको अध्यक्षतामा भएको तिज सद्भाव कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव कमल पन्त, प्रेस युनियनका नेताहरु माया थापा, शुशिल शर्मा, प्रेस चौतारी नेपालका कर्णाली प्रदेश अध्यक्ष प्रकाश अधिकारी, नेपाल फोटो पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष गोबिन्द केसी लगायत सुर्खेतमा सक्रिय रहेका महिला पत्रकारहरुको पनि उपस्थिति रहेको थियो

प्रकाशित मिति : २०८० भदौ २३ गते शनिबार