कालीकोट । कालीकोटको खाडाचक्र–१ मान्मको नावगैराबाट बिहीबार रातिदेखि बेपत्ता भएका आमा छोरा नेपालगन्जमा भेटिएका छन् । श्रीमानसँग झगडा परेर कालीकोट जिल्ला अदालतमा अंश मुद्दा हालेकी सान्नीत्रिवेणी–१ लुसा माइती भएकी २५ वर्षीया गीताकुमारी जैसी शाही र उनका ४ वर्षीय छोरा टेकेन्द्र शाही मान्म नावगैरास्थित कोठाबाट बेपत्ता थिए ।
उनी मान्म बजारमा व्यवसाय गर्दै आएका दैलेख भगवतीमाई–५ कट्टीका दानबहादुर शाहीकी कान्छी श्रीमती हुन् । बिहीबार राति ९ बजे मान्म बजारको सुवेदी होटलमा खाना खाएर सुत्न नावगैरास्थित कोठा गएका आमा छोरा बिहान नभेटिएपछि कुनै घटनामा परेको शंका गरिएको थियो । उनीहरु शनिबार दिउँसो नेपालगन्जको कारकोदोबाट सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।
कारकादोको एक होटलमा खाजा खान आएको बेला कालीकोटमा रहेकी भाउजूसँग फोनमा कुरा गरेपछि उनीहरुको अवस्था खुलेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक यज्ञराज जोशीले बताए । उनीहरुलाई बाँके प्रहरीले नियन्त्रणमा लिएर कालिकोट पठाउने तयारी गरिरहेको प्रहरीले बताएको छ । आफन्तलाई अपहरणमा परेको भने पनि कालीकोट ल्याएपछि सबै प्रस्ट हुने उनले बताए ।
शुक्रबार बिहान ३ बजेतिर चर्पी जान ढोका खोलेको बेला ३ जनाले केही सुँघाएर आफूलाई बेहोस बनाइ अपहरण गरेको उनले फोनमा सुनाएको सुवेदीले बताइन्। अदालतमा अंश र सम्बन्ध विच्छेदको मुद्दा हालेकी गीतालाई उनका श्रीमान् दानबहादुरले कुटपिट गरेर यातना दिने गरेको आफन्तले बताए । दुई साताअघि गीता र उनका छोरा मारिदिने र गत वर्ष लुसा भीरमा लडेर मरेका उनका बुवाको पनि आफैँले मान्छे लगाएर भीरबाट धकेल्न लगाएर हत्या गरेको फेसबुक म्यासेन्जरमा भनेपछि दानबहादुर प्रहरी हिरासतमा छन् ।