सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देशमा ठूलो राजनीति परिवर्तन माओवादीकै कारण आएको बताएका छन् । शनिबार वीरेन्द्रनगरमा आईसीटी फोरम नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै शाहीले यस्तो बताएका हुन् । उनले अपराधी र मानव तस्करहरुलाई सुलीमा चढाएर सजाय दिनुपर्ने समेत बताए ।
नेता शाहीले एक/एक घटनाहरुको अनुसन्धान गरेर मानव तस्करलाई सुलीमा चढाएर सजाय दिनुपर्ने बताए । उनले भने, ‘यसअघि अधिकारका लागि लडेको माओवादीको अबको युद्ध भनेको सुशासन र भ्रष्टलाई तह लगाउने हुनुपर्छ । तर माओवादीविरुद्ध नै सूचना, प्रविधिको प्रयोग गरेर अरुले हमला गरिरहेका छन्, अब आईसीटी फोरमले त्यसको चिरफार गर्न सक्नुपर्छ ।’
माओवादीले आईसीटी फोरम सञ्चालनमा ल्याउनुको प्रमुख कारण प्रविधिको प्रयोग गरी माओवादीमाथि भइरहेको हमलाको चिरफार गर्नु रहेको शाहीको भनाइ छ । उनले भने, ‘माओवादी शान्ति प्रक्रियामा आएसँगै सूचना, सञ्चारको विषयमा कुरा गर्यौं तर हामीले प्रयोग गर्न सकेनौँ, तर अरुले गरेर हामीमाथि नै हमाल गरिरहे,’ उनले भने, ‘उनीहरुले माओवादीबारे भ्रम छरे । अब हामीले टक्कर दिने गरी यो संगठनलाई अग्रसर गराउनुपर्छ ।’