सुर्खेत । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा निर्वाचित कर्णालीका आफ्ना जनप्रनिधिहरुलाई दुई दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ। कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र जिल्ला समन्वय समितिका प्रमुख तथा उप-प्रमुखहरुका लागि आइतबारदेखि वीरेन्द्रनगरमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो।
कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले पार्टी र निर्वाचित जनप्रतिनिधि बिचको सम्बन्ध विस्तार गर्न, निर्वाचनका बेला पार्टीले गरेका बाचा र प्रतिवद्धताहरु कार्यान्वयन गर्न तथा जनप्रतिनिधिहरुले काम गर्दा आइपरेका समस्याहरुको समाधान गर्नका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताए।
‘पार्टीको चुनाव चिन्ह लिएर निर्वाचित भएका जनप्रतिनिधिहरुले जनताका पक्षका के–के कामहरु गरेका छन्, काम गर्दा के–के समस्या आएका छन् र ती समस्या समाधानका लागि पार्टीले खेल्नुपर्ने भूमिका के हो भन्ने विषयमा दुई दिनसम्म चल्ने अन्तरक्रिया र प्रशिक्षण कार्यक्रममा छलफल हुन्छ,’ शनिबार पत्रकार सम्मेलन गरेर उनले भने, ‘यो कार्यक्रमले पार्टी र जनप्रतिनिधिबिच सुमधुर सम्बन्ध विस्तार हुनुका साथै चुनावका बेला गरेका बाचा पूरा गर्न सघाउ पुर्याउँछ।’
१० जिल्ला र ७९ वटा स्थानीय तह रहेको कर्णालीमा कांग्रेसबाट नगरपालिका मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र समन्वय समिति प्रमुख र उपप्रमुखमा गरेर ६५ जना निर्वाचित भएका छन्। कांग्रेसका अनुसार कर्णालीमा जिल्ला समन्वय समिति प्रमुखमा पाँच, उपप्रमुखमा एक, नगर प्रमुखमा १२, उपप्रमुखमा १०, गाउँपालिका अध्यक्षमा २० र उपाध्यक्षमा १७ जना जनप्रतिनिधि कांग्रेसका छन्।
पछिल्लो समय पार्टीको चुनाव चिन्ह लिएर निर्वाचित भएका जनप्रतिनिधिहरुले पार्टी, नेता तथा कार्यकर्ताहरुलाई उपेक्षा गर्न थालेको, चुनावी प्रतिवद्धतालाई भूलेको, सुशासन र जनताको दैनिक जीवनसँग जोडिन नसकेको लगायतका गुनासाहरू आउन थालेका छन्। यी गुनासाहरुलाई सम्बोधन गर्नका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको कांग्रेसले जनाएको छ।
कार्यक्रममा जनप्रतिनिधिहरुलाई कांग्रेसको इतिहास, नीति र सिद्धान्त, जनताका लागि कांग्रेसले खेलेको भूमिका, सुशासन कायम गर्नका लागि कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले खेल्नुपर्ने भूमिका र पार्टीको समन्वय तथा निर्वाचनका बेला मतदातासँग पार्टीले गरेका बाचाका विषयमा प्रशिक्षण दिइने उप-सभापति कालीबहादुर सहकारीले जानकारी दिए। डा.महेन्द्रकुमार मल्ल, डा.अर्जुनबहादुर अयडी, अधिवक्ता विवश कुमार बस्नेत लगायतले कांग्रेसका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने प्रवक्ता दमन शाहीले जानकारी दिए।