सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले स्वीट्जरल्याण्डको भ्रमण सोचेभन्दा राम्रो र उत्साहजनक रहेको बताएका छन् । स्वीट्जरल्याण्ड भ्रमणबाट फर्किए पश्चात उनले आइतबार संसदमा सो कुरा बताएका हुन् । शर्माले कर्णालीका नागरिकको मानवअधिकार हनन् गरिबीका कारण भएको समेत बताएका छन् । कर्णालीको बारेमै रहेर वृहत छलफल भएको उनको भनाई छ ।
‘हामीले कर्णालीको बारेमा छलफल हुनुपर्छ भनेर नै यहाँका समस्याको विषय उठान गरेका थियौँ,’ उनले भने,‘ मानव अधिकारको कुरा गर्दा सबैभन्दा मानव अधिकारको हनन गरिबीका कारण भएको छ । गरिबीका विरुद्धमा लड्ने खजना चाहिएको करा मैले त्यहाँ राखेको थिएँ ।’ शर्माले उक्त संस्थाले कर्णाली सरकारसँग सहकार्य गर्न उत्साहित रहेको पनि बताए ।
स्वीट्जरल्याण्ड भ्रमणको विषयमा भएको छलफलको रिपोर्ट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गरिएको उनले बताए । ‘सहकार्य गर्न आतुर हुनुहुन्छ, समयको व्यवस्थापनका लागि प्रधानमन्त्रीलाई जानकारी गराइएको छ,’ उनले भने ।