
कुलेन्द्र शाही, सुर्खेत । कर्णालीमा आत्महत्या गर्नेको पछिल्लो तथ्याङ्क निकै डरलाग्दो हिसाबले बढ्दै गएको छ । आत्महत्याका घटना बढ्दो क्रममा रहे पनि आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि प्रभावकारी काम हुनसकेको छैन । आइतबार सामाजिक विकास मन्त्रालयको आयोजनामा ‘आशा जगाऔँ, जीवन बचाऔँ’ भन्ने मूल नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस मनाइरहँदा उक्त कुरा उठेको हो ।
सोमवार सुर्खेत सहित उक्त कार्यक्रम धूमधामका साथ मनाइएको छ । दिवसको दिन विभिन्न कार्यक्रम गरे पनि अरुबेला भने यसप्रति कुनै पनि निकाय जिम्मेवार भएको देखिदैन् । दिवस एक दिन मनाउने मात्र नभई वर्षभरि नै समुदायलाई सचेत गराउने गरी कार्यक्रम गर्नुपर्नेमा विज्ञहरूले जोड दिए । विश्वभर ४० सेकेन्डमा एक जनाको आत्महत्याका कारण ज्यान जाने गरेको छ । एक जनाले आत्महत्या गरेमा करिब १ सय ३५ जनालाई प्रत्यक्ष असर गर्दछ ।
संसारमा एक वर्षमा आत्महत्याकै कारण ८ लाख बढीको ज्यान जाने गरेको तथ्याङ्कमा उल्लेख छ । जसमा कर्णालीमा प्रदेशमा प्रत्येक वर्ष आत्महत्या गर्नेको सङ्ख्या निकै नै वृद्धि हुँदै गएको छ । गत आर्थिक वर्ष कर्णालीमा २ सय ७३ जनाले आत्महत्या गरेका छन् । जसमध्ये सुर्खेतमा सबैभन्दा बढी १ सय ९ ले आत्महत्या गरेको सामाजिक विकास मन्त्रालयका कार्यरत सामुदायिक नर्सिङ अधिकृत कविता खत्रीले जानकारी दिइन् ।
यस्तै सल्यानमा ४५, दैलेखमा ४४, रुकुम पश्चिममा २८, जाजरकोटमा १९, कालीकोट १२, जुम्ला र मुगुमा ६÷६ जना र हुम्ला चार जनाले आत्महत्या गरेका छन् । डोल्पामा भने एक वर्षमा कसैले पनि आत्महत्या नगरेको अधिकृत खत्रीले जानकारी दिइन् । उनले कर्णालीमा आत्महत्या रोकथामका लागि अभियान समेत थालिने बताइन् ।
किन मान्छेले आत्महत्या गर्छ ?
शैक्षिक तथा मनोवैज्ञानिक चेतनाको कमिले पनि आत्महत्याको दर बढेको अधिकृत खत्रीको भनाइ छ । उनकाअनुसार आत्महत्या गर्ने पनि धेरै नै कारण रहेका छन् । जसमा परिस्थितिजन्य कारण, मानसिक वा भावनात्मक कारण, सम्बन्ध विच्छेद, पारिवारिक समस्या, शारीरिक समस्या (कुनै जटिल रोग), लागु औषध दुर्व्यसन कारण रहेका छन् ।
यस्तै, भयङ्कर दुःख या क्षति प्रियजनको मृत्यु, साथी, पारिवारिक सदस्य वा सामाजिक व्यक्तित्व, (जसलाई आफूले विशेष ठानेको हुन्छ, उसको आत्महत्याको खबर) लगायतका परिवार वा अरूले बेवास्ता गरेमा मात्रै उसले आत्महत्याको बाटो रोज्न पुग्ने उनको भनाइ छ । आफैँमा विश्वास नहुनु, जीवनदेखि हार खानु, भावी जीवनका लागि असमर्थ हुनेले आत्महत्याको बाटो रोज्ने गरेको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डा.सुशील समदर्शीले बताए ।
बालविवाह, बढ्दो सहरीकरण, बेरोजगारी र गरिबी तथा समयमै औषधी उपचार नपाउनुका कारणले आत्महत्या गर्ने गरेको डा।समदर्शीले बताए । उनले शिक्षा, स्वास्थ्यको अभाव, आर्थिक समस्या र बेरोजगारी, प्रेम सम्बन्धका कारणले आत्महत्याका घटना बढी भएको समेत जिकिर गरे ।
कसरी गर्ने न्यूनीकरण ?
अधिकृत खत्रीले आत्महत्या सम्बन्धी मनोपरामर्श र सचेतना फैलाउन सकेमा केही न्यूनीकरण गर्न सक्ने विश्वास आफूले लिएको बताइन् । साथै उनीहरूका कुरा सुन्ने, प्रश्न सोध्ने, उपचारका लागि सहयोग गर्ने, आत्महत्यालाई अत्यन्त महत्त्वपूर्ण कुरा मान्ने लगायतका कुराहरूमा ध्यान दिन सकेमा आत्महत्या न्यूनीकरण हुने उनको भनाई छ ।
आत्महत्या न्यूनीकरणका लागि मिडियाहरूको भूमिका महत्त्वपूर्ण रहेको उनले बताइन् । आत्महत्या एउटा औषधिविहीन सामाजिक रोग भएको चिकित्सक बताउँछन् । आत्महत्या नियन्त्रण गर्नका पत्रकारको पनि विशेष भूमिका रहने उनको भनाई छ । सरकारले रोकथामका नीति ल्याउनुपर्ने, सङ्घसंस्था तथा स्थानीय तहले पनि सचेतनामूलक कार्यक्रमसहितका गतिविधि सञ्चालन गर्नुपर्ने र सञ्चारमाध्यमबाट पनि रोकथाम तथा न्यूनीकरणका लागि सन्देशमूलक र सावधानी अपनाउने गरी समाचार सम्प्रेषण गर्न सके न्यूनीकरणमा सहयोग पुग्ने विज्ञहरू बताउँछन् ।
आत्महत्या रोकथाम र नियन्त्रणका लागि मनोसामाजिक नियन्त्रण सम्बन्धी कार्यविधि नै ल्याएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका आपूर्ति महाशाखाका निर्देशक डा.शक्ति सुवेदीले बताए । अहिले कर्णाली प्रदेश सरकारले विशेष कार्यक्रम नै सञ्चालन गरेको छ । अहिले अभियानका विभिन्न जनचेतनाका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।
आत्महत्या रोकथामका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख बिर्षबहादुर शाहीले बताए । उनले कोरोनाको समयमा झनै आत्महत्या गर्नेको सङ्ख्या वृद्धि भएको बताउँदै उनले सवारी साधनको पहुँच भएसँगै आत्महत्या गर्नेको सङ्ख्या बढेको बताए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घ सुर्खेतको अध्यक्ष ललित बसेलले पछिल्लो समय नेपालमा आत्महत्याको विषय अलिक विकराल बन्दै गएको बताए ।
उनले आत्महत्या मान्छेको बाध्यता बन्ने गरेको भन्दै त्यस्तो अवस्था आउन नदिनुपर्नेमा जोड दिए । साथै, आत्महत्याका केही घटनाहरू आवेगका कारण पनि हुने गरेको उनको भनाई छ । उनले तनाव, द्वन्द्व, विभेद, अन्याय, अत्याचार र शोषणका कारण आत्महत्या बाध्यता बनेको बताए । आत्महत्या न्यूनीकरण र रोकथामको लागि नेपालका सञ्चारमाध्यमहरूले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बसेलको भनाई छ । आत्महत्यासम्बन्धी रिपोर्टिङ गर्दा आत्महत्या न्यूनीकरणलाई सहयोग हुनेगरि गर्नुपर्ने उनको भनाई छ ।
समाचारमा प्रयोग भएको तस्बिरमा पनि ध्यान पु¥याउन आवश्यक रहेको उनले बताए । कर्णालीमा विगतमा आत्महत्या गर्नेको सङ्ख्यामा कमी आए पनि वर्तमान अवस्थामा घटना बढ्नु आफैमा चिन्ताको विषय भएको छ । समाज आधुनिकीकरणतर्फ अघि बढ्दै गर्दा आत्महत्याको घटना बढ्नु आफैमा चिन्ताको विषय भएको हो । आत्महत्या गर्नुको पछाडि पारिवारिक बेमेल, सम्बन्धको अन्त्य, गरिबी, मानसिक रूपमा निकै कमजोर, मनोरोग, अत्यधिक मादक पदार्थ तथा लागू औषधको सेवन जस्ता कारणहरू रहेको अनुसन्धानले देखाएको छ ।
के भन्छ प्रहरी ?
कर्णालीमा मात्रै नभई देशैभर आत्महत्या गर्नेको सङ्ख्या निकै बढ्दै गइरहेको छ । जसमा कर्णाली प्रदेशको सुर्खेत जिल्लामा धेरै वृद्धि भइरहेको छ । जसमा डोल्पामा आत्महत्या गर्नेको सङ्ख्या शून्य रहेकोमा सुर्खेतमा १ सय ९ जनाले आत्महत्या गरेका छन् । यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले सुर्खेतमा जनसङ्ख्याको हिसाबले आत्महत्या हुनेको सङ्ख्या धेरै भएको बताए ।
उनले रिसको आवेग, बेरोजगारी, आर्थिक तथा कानुनी समस्या, मानसिक वा भावनात्मक कारण, निराशावादी चिन्तन, बाँच्नुको औचित्य नदेख्नु, जीवनमा कुनै उद्देश्य नहुनु मानसिक समस्या लगायतका कारणले आत्महत्या गर्ने गरेका बताए । उनले प्रहरीले मात्रै नभई सबै आ–आफ्नो ठाउँबाट लाग्न सकेमा आत्महत्या केही न्यूनीकरण हुने बताए ।
आत्महत्या गर्ने मानिसले देखाउने लक्षण
आत्महत्या गर्ने मानिसले विभिन्न लक्षण देखाउने गर्दछन् । जसअन्तर्गत दुःखी, निराश देखिने, आफ्नो बारेमा लापरबाही गर्दै जाने, पहिले खुसीले गर्ने कामप्रति रुचि कम हुँदै जाने, धूम्रपान, मद्यपान गर्ने गरेको छ भने अझै बढी प्रयोग गर्न थाल्ने, अरूबाट अलग्गिने, एक्लै बस्न रुचाउने, आफूप्रति घृणाको भाव देखाउन थाल्ने, अचानक खुसी र शान्त देखिन थाले लगायतका लक्षण देखाउने गरेको जानकारहरू बताउँछन् ।