सुर्खेत । रुकुम पश्चिममा रहेको भ्यालि पब्लिक स्कुलका प्रिन्सीपल र संचालकलाई प्रहरीले पक्राउ गरेको छ । चौजहारी नगरपालिका–१ मा सञ्चालित निजि बिद्यालय भ्याली पब्लिक स्कुलका प्रिन्सीपल पुष्पा भाट र संचालक युडेन भण्डारीलाई आईतबार प्रहरीले पक्राउ गरेको हो ।
सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत १३ वर्षिया छात्रा सृष्टि गौतमको आत्महत्या दुरुत्साहन मुद्धामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए । शुक्रबार छात्रा गौतमलाई विद्यालयमा प्रिन्सीपल भाटले सञ्चालक भण्डारीको संलग्नतामा निर्धात कुटपिट गरेपछि घर आएकी छात्राले विद्यालय पोशाकमै झुण्डिएर आत्महत्या गरेको पीडित परिवारको भनाई छ ।
विद्यार्थीको पढाई लेखाई भन्दा पनि घरायसी साथसंगतको कारण विद्यालयमा बालिका माथि प्रिन्सीपलले निरन्तर यातना र तनाब दिएपछि ज्यान गुमाउन बाध्य पारिएको मृतक बालिकाका आफन्तजनको आरोप छ । यस बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।