
सुर्खेत । सोमबार बिहानदेखि सुर्खेत आसपासमा भइरहेको मेघगर्जनसहित भारी वर्षासँगै परेको चट्याङ्गले भेरीगंगा नगरपालिकाको जहरे बजारमा रहेको रेडियो बिजी एफएममा लाखौँ क्षति गरेको छ । रेडियो प्रसारण भइरहेको समयमा बिहान ११ः१७ बजे परेको चट्याङ्गबाट रेडियो प्रसारण समेत बन्द भएको छ ।
रेडियोको मुख्य उपकरणमै चट्याङ्गले क्षति पु¥याएपछि लाखौँ क्षतिसँगै प्रसारण अनिश्चित भएको रेडियोको म्यानेजर दिलीप कँडेलले जानकारी दिए । उनकाअनुसार वर्षासँगैको चट्याङ्गले रेडियोको उपकरण ट्रान्समिटर, डायपोल, एसटि लिङ्क, डिभाइडर र कनेक्टर तारमा क्षति भएको छ । रेडियो टावरमा बिहान दुई चरणमा गरी दुई पटक चट्याङ्ग परेको थियो ।
चट्याङ्गबाट रेडियो प्रसारणका मुख्य पाँच वटा उपकरणमा क्षति हुँदा करिब ११ लाख रुपैयाँ बराबरको क्षति भएको रेडियोका निर्देशक टेकेन्द्र बस्यालले जानकारी दिए । उपकरणमा आगलागीसहित क्षति भएपछि प्रसारण समेत सोमबार बिहानैदेखि बन्द भएको उनले बताए । वर्षा जारी रहेकोले रेडियोको उपकरण क्षतिको अवस्था जाँच गर्न नसकिएको उनको भनाई छ ।
वर्षात रोकिएपछि क्षति भएको सामानको प्राविधिक चेकजाँच र परीक्षण हुनेछ । यसैबिच प्रहरी चौकी जहरेबजारको प्रहरी टोलीले रेडियो प्रसारण र क्षतिको स्थलगत जानकारी लिएको छ । स्थानीय सरकार वडाका प्रतिनिधिले समेत रेडियोको क्षतिको निरीक्षण गरेका छन् ।
सोमबार नै मेघ गर्जनसहित परेको चट्याङ्गले जहरेबजारस्थित साना किसान सहकारीको उपकरणमा समेत क्षति पुर्याएको छ । सहकारीको कम्प्युटर, युपिएस, पङ्खा, ब्याक अप, मिटर बक्स र विद्युतीय तारहरू जलेर क्षति भएको हो ।
