२०८३ वैशाख १२ , शनिबार

गाउँपालिका पुग्न ज्यानको बाजी !

मतदाता भन्छन् – आश्वासन दिएर गएकाहरु, अनुहार देखाउन आएनन्


हुम्ला । हुम्लाको ताजाँकोट गाउँपालिका– ३ को मासपुर गाउँ भोटबैंक मात्रै बनेको छ । निर्वाचनभन्दा पहिला भोट माग्न विभिन्न आश्वासन दिने ठूला दलका नेता चुनाव सकिएपछि गाउँमा अनुहार देखाउन गएका छैनन् । मासपुरवासीको एक मात्रै माग छ– गाउँपालिका केन्द्र पुग्ने छरी भिरको पहरो बनाइदेऊ ।

हुम्लामा ठूला राजनीतिक दल भनिएका नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेपाली कांग्रेस चुनाव सकिएपछि गाउँ फर्केर नआएको ताजाँकोट गाउँपालिका– ३ मासपुर गाउँका गहुकला रोकायाले गुनासो पोखिन् । ‘भोट माग्न आउँदा आश्वासन दिए, अहिले जिते अनुहार देख्न पाइँदैन,’ उनले भनिन् ।

‘चुनावको वेला भोटका लागि छरी भिरको पहरो बनाइदिन्छु भनेर सबै नेताले भने । वर्षदिन बित्यो न त छरी पहरोको बाटो बनाइदिए न त नेताहरू गाउँ फर्किए,’ उनले भनिन् । ‘गाउँपालिका पुग्न जोखिम मोल्दै आवतजावत गर्नुपर्छ,’ अर्का स्थानीय केशबहादुर रोकायाले पीडा व्यक्त गरे ।

छरी भिरमा झुन्डिएर वारपार गर्नुपर्दाको पीडा कुनै नेताले नबुझेको उनको भनाइ छ । ‘मासपुरमा भोट मात्रै चाहिने रहेछ । विकास केही पनि गरेनन् । विभेद मात्रै गरे । हामी जनता भोटबैंक मात्रै भयौँ,’ रोकायाले भने ।

प्रकाशित मिति : २०८० भदौ २७ गते बुधबार