सुर्खेत । सुर्खेतको भेरीगंगामा हरितालिका तीजका अवसरमा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नव ज्योति युवा क्लबको आयोजनामा भेरीगंगा नगरपालिका–२ स्थित सत्तरीमा यही भदौ ३० देखि भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा सहभागिता जनाउने टिमले भदौ २९ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने क्लबका अध्यक्ष धनबहादुर बुढाले जानकारी दिए ।
भलिबल प्रतियोगिताको माध्यमबाट नयाँ क्षमता र प्रतिभाहरू प्रस्फुटन हुने एवम् खेलकुद विकासमा प्रतियोगिताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उद्देश्य रहेको क्लबका सचिव गणेश विकले बताए । उनले भलिबल प्रतियोगितामा सहभागी हुने प्रत्येक समूहलाई १ हजार ८ सय ५० र फुटबल प्रतियोगितामा सहभागी हुने समूहलाई २ हजार ५५ रुपैयाँ दर्ता शुल्क लाग्ने समेत बताए ।
उनकाअनुसार पुरुष भलिबल प्रतियोगितासँगै फुटबल, घैटोफोर, सटफुट, डोरी तान्ने प्रतियोगितासमेतको आयोजना गरिएको छ । प्रतियोगितामा भलिबलमा विजेता हुनेलाई ३० हजार र उपविजेतालाई २५ हजार पुरस्कार प्रदान गरिने अध्यक्ष बुढाले जानकारी दिए ।
यस्तै फुटबलमा प्रथमलाई २५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । फुटबल प्रतियोगिता २९ गते सञ्चालन हुनेछ भने भलिबल ३० गते सञ्चालन हुने अध्यक्ष बुढाले बताए ।