सुर्खेत । गत भदौ १० सुर्खेतको वीरेन्द्रनगरबाट लागु औषध ‘ब्राउन सुगर’ सहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लियो । दाङबाट जुम्लातर्फ आउँदै गरेको क १ ख १० नम्बरको ट्रकलाई शङ्का लागि चेकजाँच गर्ने क्रममा उनीहरूलाई वीरेन्द्रनगर–११ सुब्बाकुना चेक पोष्टबाट पक्राउ गरिएको थियो ।उनीहरू उमेरले ३० वर्षमुनिका थिए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनीहरू दुवै जनालाई लागू औषधसम्बन्धी मुद्दा चलाइएको छ । यस्तै, भदौ ११ गते पञ्च पुरी नगरपालिका–४ बराइचेबाट हुम्लाको सर्केगाड गाउँपालिका–४ बस्ने वर्ष २७ का मोहन शाही पनि लागु औषधसहित पक्राउ परे । सरदर दैनिकजसो लागू औषध ओसारपसार गर्ने गिरोहका सदस्यहरू पक्राउ परिरहेका छन्। यसरी लागू औषध बोक्ने र सेवन गर्दै गरेका युवाहरू पक्राउ पर्नु कर्णाली प्रदेशमा अहिले सामान्य विषय बन्दै गएको छ ।
यस हिसाबले हेर्दा कर्णाली प्रदेशमा लागु औषध कारोबारी र सेवनकर्ताको संख्या तीव्र गतिमा बढ्दै गएको अनुमान गर्न सकिन्छ। ओसारपसार गर्नेहरूको तुलनामा यहाँ प्रायजसो लागू औषध सेवनकर्ताहरू नै भेटिइरहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार प्रदेशभरमा हरेक दिन सरदर एक दुई जना व्यक्ति लागु औषध कसुरमा पक्राउ पर्ने गरेका छन् । पक्राउ परेपछि उनीहरूविरूद्ध मुद्दा चलाइन्छ ।
आर्थिक वर्ष २०७७/०७८ मा १ सय ६ जना पुरुष र १७ जना महिला गरी कुल १ सय २३, आर्थिक वर्ष २०७८÷०७९ मा १ सय ६४ जना पुरुष र ८ जना महिला गरी १ सय ७२ र गत आर्थिक २ सय १५ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ परेकाहरूबाट २ सय ५ ग्राम २ सय ७२ मिलिग्राम ब्राउन सुगर, ६ सय ८६ ग्राम ८२ मिलिग्राम गाँजा, १ सय ६३ ग्राम ९ सय ७७ मिलिग्राम चरेस, १७ सिसी। र १ हजार ६ सय ८४ ट्याब्लेट ,औषधीजन्य लागू औषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पछिल्लो समय सहर भन्दा गाउँमा लागु औषध सेवनकर्ताको संख्या बढ्दो क्रममा छ । पक्राउ पर्नेमा अधिकांश पुरुष रहेका छन् भने महिलाको संख्या पनि डरलाग्दो हिसाबले बढिरहेको छ । लागू औषध नियन्त्रण गर्न प्रभावकारी कदम नचाल्ने हो भने युवा पुस्ता बर्बाद हुँदै जाने सङ्केत देखा परेको प्रहरी अधिकारीहरूको भनाइ छ । लागू औषध दुर्व्यसनी हुनुमा साथीहरूको दबाब, मनोरञ्जनको चाहना, कस्तो हुन्छ भन्ने उत्सुकता, मानसिक तनाव कम गर्ने बहाना, पारिवारिक समस्याबाट मुक्तिको भ्रम, डिप्रेसन र पढाइमा समस्या मुख्य कारण रहेको पाइएको छ ।
यहाँ अधिकांश पक्राउ पर्नेमा नेपालगन्जका मानिसहरू रहेको प्रहरीको भनाई छ । नेपालगन्जबाट युवा तथा अन्य मानिसहरू सुर्खेत आउनुहुँदा यहाँ लागु औषध दिनदिनै भित्रने गरेको प्रहरीको भनाई छ । सरकारी तथा विभिन्न गैरसरकारी सङ्घ–संस्थाले लागु औषध नियन्त्रणबारे बेलाबखत कार्यक्रम गर्दै आए पनि यसको प्रयोग र कारोबारमा कमी आउनुको साटो दिनदिनै कारोबारीहरू बढ्दै गएको देखिन्छ । प्रहरीले अधिकतम प्रयास गरिरहेको भए पनि खुला सिमानाका कारण नियन्त्रण गर्न भने सकेको छैन ।
प्रहरीले लागू औषध सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहे पनि यसको नियन्त्रण हुन सकेको छैन । गाउँघरमा यो कार्यक्रम प्रभावकारी भएको भए पनि सहर बजारमा भने यो कार्यक्रम शून्यमा छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपालचन्द्र भट्टराईकाअनुसार लागु औषध प्रयोगकर्ताको संख्या हेर्दा प्रदेशभरका हरेक स्थानीय तहले विशेष कार्यक्रम चलाउन आवश्यक देखिन्छ ।
‘लागु औषधको कारोबार र प्रयोग बढेको छ तर नियन्त्रण गर्ने जनशक्ति र संयन्त्रको अभाव छ। सीमित स्रोतसाधनबाट पनि हामीले बढीभन्दा बढी काम गरेका छौँ। जनचेतना फैलाउने कामका पनि लागेका छौँ,’ भट्टराईले भने, ‘लागू औषध खराब हो, कानुनले बन्देज गरेको छ भन्ने कुरा प्रयोगकर्तालाई पनि थाहा छ तर छोराछोरी दुर्व्यसनी हुँदै गरेको कुरा अभिभावकलाई थाहा हुँदैन ।’
यातायातसँगै लागु औषधको कारोबार पनि बढ्यो
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम् डिआइजी भीमप्रसाद ढकालले पछिल्लो समय विकाससँगै लागू औषधको कारोबार पनि बढ्दै गएको बताए । उनले एक कार्यक्रममा बोल्दै यातायात पुग्ने ठाउँमा लागू औषध कारोबार बढी हुने भएकाले यातायात र यसको सम्बन्ध नङ र मासुको जस्तै भएको बताए । उनले भने ‘अहिले त यातायात जहाँ पुग्यो त्यति लागु औषध हुन थाल्यो, त्यसैले यातायात र लागू औषध त नङ र मासु जस्तै भयो।’
उनले अरू प्रदेशभन्दा कर्णालीमा लागू औषध सेवन गर्नेको सङ्ख्या भने कम रहेको बताए । उनले नेपालमा वार्षिक ५ दशमलव ६ प्रतिशतले लागु औषध सेवन गर्नेहरूको संख्यामा वृद्धि हुने गरेको बताए । नागरिकले पनि सबै जिम्मा प्रहरीको मात्रै हो भन्ने सोच्ने भएकाले पनि लागू औषधको कारोबार झन् बढ्दै गएको उनको भनाई छ । उनले यो नियन्त्रणका लागि प्रहरी एक्लैले चाहेर मात्रै नहुने बताउँदै शङ्का लागेको खण्डमा प्रहरीलाई खबर गर्ने खालको समुदाय बनाउन जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
प्रमुख ढकालले पछिल्लो समय हिमाली जिल्लामा समेत लागू औषधको कारोबार भइरहेको जानकारी दिए। आफूहरूले सचेतनामूलक कार्यक्रम व्यापक रूपमा गरेको बताउँदै उनले प्रहरी कार्यालयमा पनि सचेतनामूलक कार्यक्रम सम्बन्धी प्रतिस्पर्धा हुने गरेको बताए । ‘हामीले कसले कति कार्यक्रम गर्छ त त्यसको मापदण्ड तोकेका छौ,’ उनले भने, ‘जसले धेरै कार्यक्रम गर्छ उसलाई हामीले पुरस्कृत गर्ने र कार्यक्रम नगर्नेलाई कारबाही गर्ने गरेकाले पनि सबै साथीहरू घाम पानी नभनी निरन्तर लागिरहनुभएको छ ।’
अभिभावकको निगरानी कम भयो : डिएसपी शाही
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले गाउँका युवा युवती सहर बजारमा पढ्न आउने, गलत सङ्गत गर्ने, अभिभावकले निगरानी नराख्ने लगायतका कारणले लागु औषध दुर्व्यसनी नियन्त्रण बाहिर जान थालेको बताए । उनले लागु औषध दुर्व्यसनी नियन्त्रण बाहिर जान थालेकाले सचेतना अभियान समेत थालिएको बताए ।
प्रहरीले पक्राउ पर्नेहरूलाई लागु औषध ऐनअन्तर्गत मुद्दा दर्ता गर्दै आएको छ । युवायुवतीहरू साथीसंगती, घर परिवार रेखदेख नपाएर कुलतमा फसिरहेका छन् । युवायुवतीहरूलाई दुव्र्यशनीमा फस्न नदिन अभिभावकले समेत आफ्ना छोराछोरीको विशेष रेखदेख गर्दै निगरानी बढाउनुपर्ने प्रहरीको सुझाव छ । लागू औषधको ओसार-पसार र प्रयोगलाई नियन्त्रणमा सक्रियता बढाएको प्रहरीको दाबी छ ।
लागु औषध नियन्त्रणका लागि कानुन जरुरी : मन्त्री जिसी
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले लागू औषध नियन्त्रणका लागि आवश्यक कानुन, कार्यविधि तथा योजनाहरू बनाएर कार्यान्वयन गर्न सकेमा लागू औषध नियन्त्रण हुन सक्ने विश्वास गरे । उनले एक कार्यक्रममा बोल्दै लागू औषध नियन्त्रणका लागि आवश्यक कानुनहरू बनाउन ढिला गर्न नहुने समेत बताए ।
मन्त्री जिसीले विद्यालय र घरपरिवारले आजैदेखि लागु औषध नियन्त्रणका लागि सक्दो सहयोग गरेमा यसको नियन्त्रण केही हदसम्म हुने बताए । धेरै नागरिक लागू औषध नियन्त्रण गर्ने जिम्मा प्रहरीको मात्रै भएको भन्ने सोचिदिनाले लागु औषध नियन्त्रण झनै भयावह हुँदै गएको बताए। जिसीले लागू औषध नियन्त्रण गर्न सबै आआफ्नो ठाउँबाट अग्रसर हुनुपर्नेमा जोड दिए ।