सुर्खेत । तरलता अभावको कारण देखाउँदै बैङ्क तथा वित्तीय संस्थाले ऋण नदिँदा ग्रामीण क्षेत्रमा व्यवसायीहरू सङ्कटमा पर्न थालेका छन् । अभावलाई देखाउँदै व्यवसायीलाई बढेको ब्याजमै कर्जा तिर्न ताकेता गर्दा व्यवसायी थप मारमा परेका हुन् । निक्षेप बढाउन आक्रामक रूपमा प्रस्तुत भएका बैङ्क तथा वित्तीय संस्थाहरू कर्जा प्रवाहमा भने सुस्त देखिएका छन् ।
पर्याप्त धितो नभएको र जाजरकोटका लघुवित्त संस्थाहरूले कर्जा प्रवाह गर्न पाउने सीमा भन्दामाथि रहेकाहरू यसको समस्यामा परेका छन् ।ठुला बैङ्क तथा वित्तीय संस्थाको प्राथमिकतामा नपरेका साना उद्यमीहरूलाई कर्जा प्राप्तिमा समस्या भएको उद्यमीहरूको गुनासो छ । जाजरकोटमा उद्योग क्षेत्रको योगदान महत्त्वपूर्ण रहे पनि धितोको अभावका कारण अत्यावश्यक कर्जा र वित्तीय पहुँच भन्दा उद्यमी बाहिर छन् ।
वित्तीय संस्थाहरूबाट कर्जा प्राप्तिका लागि धितोलाई प्राथमिक आधारका रूपमा प्रयोग गर्ने गरिन्छ । हाल प्रचलित चल सम्पत्तिले वित्तीय एवम् आर्थिक विकास र कर्जाको जोखिम, कर्जा लागत न्यूनीकरण गर्नुका साथै लघु, घरेलु, साना तथा मझौला उद्यमको वित्तीय पहुँच बढाउन मद्दत पु¥याउँछ । लघु, साना तथा मझौला उद्यमी तथा व्यवसायी र कृषि व्यवसायीहरू कर्जा पाउनबाट वञ्चित भएका छन् ।
सरकारले ल्याएको नीति तथा कार्यक्रममा उद्यमीलाई बिना धितो ऋण प्रवाह गर्ने भए पनि जाजरकोटका अधिकांश उद्यमीहरूले अहिले कर्जासमेत पाएका छैनन् । व्यवसाय सञ्चालनका लागि कर्जा मागको फाइल बैकमा बुझाए पनि कर्जाको कुनै सुनिश्चितता नभएको यहाँका उद्यमीहरूको गुनासो छ । बैक क्षेत्रमा तरलता अभावको कारण देखाउँदै बैङ्क तथा वित्तीय संस्थाहरूले ऋण नदिँदा व्यवसायीहरू सङ्कटमा पर्न थालेका छन् ।
कोभिड पछिको तरलता अभाव देखाउँदै व्यवसायीबाट पटक पटक पुरानो कर्जामा वृद्धि गरिएको ब्याजमै ऋण तिर्न ताकेता गरेपछि व्यवसायीहरू थप मारमा परेका हुन् । निक्षेप बढाउन आक्रामक रूपमा प्रस्तुत भएका बैङ्क तथा वित्तीय संस्थाहरू कर्जा प्रवाहमा भने सुस्त देखिएका छन् । कर्जा प्रवाहको गति हेर्दा व्यवसायीहरूलाई ऋण दिन बैङ्कहरू उत्साहित देखिँदैनन् । व्यवसाय विनाको नयाँ ऋण दिन बैङ्कहरू अझै “रिजर्भ“ देखिएका छन्।
उनीहरू लगानी गर्नबाट पन्छिदा त्यसको असर जाजरकोटका व्यापारीमा देखिएको स्थानीय व्यवसायी कृष्ण मल्लले बताए । कोरोना सङ्क्रमणका कारण लामो समयसम्म बन्द भएर थलिएका उद्योग व्यवसायीले व्यवसाय सञ्चालनका लागि थप ऋण माग गरे पनि नपाएको मल्लको गुनासो छ । बैकले थप लगानी नगर्दा यसको समग्र असर व्यवसाय क्षेत्रमा परी यो क्षेत्र नै धराशायी बनेको मल्लले बताए ।
जिल्लामा उद्योग व्यवसाय चलायमान बनाउने व्यवसायीहरूको उद्देश्य भए पनि बैङ्क तथा वित्तीय संस्थाको मनोमानी व्याजका कारण व्यवसायीहरू मारमा परेकाले आन्दोलनमा उत्रनु पर्ने अवस्था आएको उनीहरूले बताए। उद्योग व्यवसाय गर्नेहरूले अहिले बैङ्कबाट सहज तरिकाले ऋण पाउन सक्ने अवस्था नभएकोले आन्दोलनको विकल्प नभएको उनीहरूको भनाइ छ । व्यवसायी मल्ले भने, ‘लगानी गरेको ऋणको पनि बैङ्कले मनपरी ढङ्गले ब्याज बढाइदिँदा व्यवसायीहरू थप कमजोर बन्न पुगेका छन् ।’
तरलता अभावलाई कारण देखाउँदै बैङ्क तथा वित्तीय संस्थाहरूले सहज अवस्थामा पुग्दा पनि ब्याजदर घटाएका छैनन् । बैङ्कसँग पर्याप्त पैसा नभएको भन्दै सावाँ ब्याजसहित कर्जा तिर्नका लागि उनीहरूले ताकेता गरिरहेका छन् । व्यापारी माथि बैङ्कले गरेको अत्याचारविरुद्ध उद्योग वाणिज्य सङ्घ जाजरकोट मौन बसेको भन्दै व्यवसायीहरू हतोत्साहित हुँदै गएको निर्माण व्यवसायी एवम् महासङ्घ जाजरकोटका उपाध्यक्ष ईश्वरी खत्रीले बताए ।
उनी भन्छन्, ‘बैङ्कले पैसा छैन भन्दै एलसी नखोल्ने, पास भइसकेको कर्जा नदिने तर पुरानो कर्जाको ब्याजदर भने बढाएर तिर्न ताकेता गरिरहने प्रवृत्ति बढेको छ । बैक तथा वित्तीय संस्थाका कारण जिल्लाका व्यापारीहरूलाई थप हतोत्साहित बनाउने काम भइरहेको छ ।’ बैक तथा वित्तीय संस्थाहरूमा आर्थिक वर्षको पहिलो तीन महिनाको औसत आधार दरका आधारमा आगामी कात्तिकमा नयाँ ब्याजदर तोक्ने गरिन्छ । सामान्यतया कात्तिकमा ब्याजदर घट्ने गर्छ ।
तर,जिल्लाका अधिकांश बैङ्क तथा वित्तीय संस्थाहरूले ब्याजदर नघटाई पुरानै दरमा ऋण चुक्ता गर्न व्यवसायीलाई ताकेता गरिरहेको व्यापारीहरूको गुनासो छ । गाउँको जग्गामा कर्जा नपाउनु, पाएको कर्जाको पनि ब्याजदर बढ्ने समस्याले उद्योगीहरू व्यवसाय नै बन्द गर्ने अवस्थामा पुगेका छन् । साँवा र ब्याज उठाउन आक्रामक बनिरहेका बैङ्क तथा वित्तीय संस्थाहरूको मनपरी र व्यवसायीहरूलाई ताकेता गरिरहेकोले जाजरकोटका व्यापारीहरूले आन्दोलनको बारेमा छलफल गरिरहेका छन् ।
कार्यान्वयन भएन सहुलियत कर्जाको अवधारणा
पछिल्लो समय सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यमशीलतासँग जोड्न सहुलियत कर्जाको अवधारणा ल्याएको थियो । वर्षेनी वैदेशिक रोजगारमा गएका युवाहरूलाई रोजगार दिने भन्दै वार्षिक बजेटमा ल्याएको नीति कार्यान्वयन हुन सकेको छैन । जाजरकोट जिल्लामा हजारौँको सङ्ख्यामा युवाहरू स्वदेश फर्के पनि सहुलियत कर्जा पाउन सकेका छैनन् ।
वैदेशिक रोजगारीबाट फर्केपछि यहाँका अधिकांश युवा बेरोजगार भएका छन् । नेपाली श्रम बजारमा फिट नहुने हुँदा उनीहरू घरमा खेती किसानी गर्न पुरानै अवस्थाको बेरोजगार हुन पुगेका छन् । वैदेशिक रोजगार र विश्वव्यापी रूपमा फैलिएका महामारीका कारण जिल्लामा युवाहरू बेरोजगारी हुँदै गएका छन् । भारत बाहेक विदेशबाट रोजगारी छाडेर स्वदेश फर्केका उनीहरू बेरोजगार बसेका छन् ।
जाजरकोट जिल्लाबाट वैदेशिक रोजगारका लागि कति युवाले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा कति गएका थिए र तीमध्ये कति फर्के भन्ने तथ्याङ्क अहिले सम्म छैन । बैकहरूमा सहुलियत कर्जा माग्दा नपाएको वैदेशिक रोजगारबाट फर्केका युवाहरूको गुनासो छ । सहुलियत कर्जाका १० शीर्षकमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जा र महिला उद्यमशील कर्जा प्रवाह भएको छ ।
वैदेशिक रोजगार सम्बन्धीको यस्तो सहुलियत कर्जा उपयोग गर्नेमा उच्च तहका राजनीतिज्ञ र कर्मचारीहरूका आफन्तहरूकै वर्चस्व रहेको उनीहरूको गुनासो छ । सरकारले चालू आर्थिक वर्षमा वाणिज्य बैङ्कका शाखाबाट १० र विकास बैङ्कका शाखाबाट ५ अनिवार्य सहुलियत कर्जा प्रदान गर्ने नीति लिए पनि कर्जा नपाएको यहाँका युवा व्यसायीहरुको गुनासो छ ।
जिल्लाका बैङ्क तथा वित्तीय संस्थाले सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई उपेक्षा गरेको जाजरकोटका प्रबुद्ध व्यक्तिहरू पनि बताउँछन् । उनीहरूको गुनासो सरकारले निर्णय गर्ने तर कार्यान्वयनको बारे नसोच्ने भएको आरोप छ ।
सरकारले उद्यमशीलता बढाउन सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि ल्याएको छ । अनिवार्य कर्जा प्रवाह गर्न अनिवार्य नीति लिए पनि बैङ्कहरूले असन्तुलित ढङ्गले कर्जा प्रवाह गरिरहेकोले सरकारले लिएको नीति स्थानीय स्तरमा असफल भइरहेको छ ।