
सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतले नेपालकै सबैभन्दा उत्कृष्ट एमआरआई मेसिनबाट सेवा सुरु गरिएको छ । अस्पतालले लामो समयको गृहकार्यपछि २९ करोड ७१ लाख रुपैयाँको एमआरआई मेसिन खरिद गरेर शुक्रवारबाट सेवा सुरु गरेको हो । अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार दुई महिना लगाएर मेसिन जडान र प्रोसेसिङ्ग प्रोग्रामहरु इन्स्टल गरेर एमआरआई मार्फत सेवाहरू सञ्चालन गरिएको हो ।
१५ महिना देखिको लामो प्रयासपछि नेपालकै उत्कृष्ट एमआरआई मेसिनबाट कर्णालीका नागरिकलाई सेवा दिन पाउँदा खड्काले खुसी व्यक्त गरे । सुर्खेतमै एमआरआई मेसिनबाट सेवा सुरु भएपछि अब उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिएको खड्का बताउँछन् । एमआरआई उच्चस्तरको प्रविधि हो ।
चुम्बकीय शक्तिबाट चल्ने अति नै उच्चस्तरको प्रविधिलाई एमआरआई भनिन्छ । स्नायु, मेरुदण्ड, हाडजोर्नी, पेट, छाती, टाउको, हाड तथा नसासँग सम्बन्धित रोगको उपचारमा एमआरआई सेवाले ठूलो सहयोग पुग्छ । एमआरआईबाट रोग पत्ता लगाइ उपचारमा सहयोग पुग्ने डा.खड्काले बताए । ढाड वा कम्मर दुख्ने, घुँडाका रोगी, हाडमा लागेको सङ्क्रमण वा ट्युमरको विशेष जानकारी लिन पनि एमआरआई गर्ने गरिन्छ ।
मेरुदण्डको ट्युमरको परीक्षण र उपचारका लागि पनि एमआरआई गर्ने गरिन्छ । एमआरआईले नरम तन्तुलाई स्पष्टसँग देखाउने गर्छ । आधुनिक एमआरआईमा पेट, स्तन, मुटुको समस्यासमेत स्पष्टसँग पहिचान गर्न सकिन्छ। एमआरआईमा अत्यधिक चुम्बकीय शक्ति हुने भएकाले फलामजन्य धातु, मोबाइल, फोन, घडी, क्रेडिट कार्ड तथा विद्युतीय उपकरण एमआरआई गरिएको स्थानमा लैजान मिल्दैन ।
‘एमआरआईले सबैजसो रोग पत्ता लगाउन सहयोग गर्छ,’खड्काले भने,‘ मुख्यतया नसाको रोगमा एमआरआई प्रयोग गर्ने गरिन्छ । थाई, कम्मर तथा अन्य विभिन्न भागको मासुमा ट्युमर पलाएको अवस्थामा समेत एमआरआई प्रयोग गर्न सकिन्छ ।’ प्रदेश अस्पतालको यो मेसिन ६४ स्वतन्त्र च्यानल क्षमताको हो । प्राविधिक विवरण, प्राविधिक विशिष्टताका हिसाबले यो मेसिन उच्च गुणस्तर रहेको दाबी उनको छ ।
अहिले सम्म नेपालकै सबै भन्दा बढी क्षमता भएको दैनिक ३५ देखि ४० जनालाई जाँच गर्न सकिने आर्टिफिसियल इन्टेलिजेन्स आवाजविहीन एमआरआई मेसिन जडानले कर्णालीका नागरिकलाई उपचारमा धेरै सहज हुने अपेक्षा गरिएको छ । सङ्घीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अस्पताल सुर्खेतलाई एमआरआई मेसिन खरिदको लागि बजेट उपलब्ध गराएको थियो ।