
सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले दुर्घटना न्युनिकरणका लागि लागि पछिल्लो समय विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । कार्यालयले सडक दुर्घटना न्यूनीकरण गर्न वीरेन्द्रनगरका सडक छेउमा ३ वटा ट्राफिक प्रहरी जस्तै देखिने ‘डमी’ बनाएर राखेको छ ।
सडकमा हुने दुर्घटनालाई कम गर्नको लागि ट्राफिक प्रहरीको ‘डमी’ राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख एवम् प्रहरी निरीक्षक देवेन्द्रसिङ बुढाथोकीले खबरदृष्टिलाई जानकारी दिए । उनका अनुसार नागरिकहरुलाई दुर्घटनाबाट बचाउनुका साथै सबैलाई जनचेतना फेलाउनका लागि ‘डमी’ राखिएको हो ।
उनले वीरेन्द्रनगरको कपाँसे, बागेसिमल, सुब्वाकुना, भेरीगंगाको बबई, छिन्चु लगायतका ठाउँमा पनि ‘डमी’ राख्ने तयारी भइरहेको बताए । सडकमा ट्राफिक राखिँदा लापरवाही गरेर सवारी चलाउनु हुँदैन भन्ने चालकमा मनोवैज्ञानिक प्रभाव पर्ने उनले बताए ।
उनका अनुसार वीरेन्द्रनगरमा भएका ‘डमी’ को हातमा ट्राफिक नियमको पालना गरौँ बोर्ड पनि राखिएको छ । टाढाको दुरीबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति कम गर्ने सघाउनुका साथै ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुने बुढाथोकीको भनाई छ ।
उनले सवरी साधनको गति तीव्र हुने भएकोले ट्राफिक जस्तो देखिएपछि चालकले सजक भई सवारी हाँक्न डमीले सचेत गराउने उनको विश्वास छ । नजिकै पुगेपछि ट्राफिक सन्देश राखेको बोर्ड देख्ने हुनाले त्यो सन्देश सबैले पढ्ने र सचेतना बढ्ने पनि उनको भनाई छ ।