
त्रिपुराकोटकी १२ वर्षीय कोपिला सार्की गिट्टी कुट्दै
पुर्ण कुमार, डोल्पा । शुक्रबार देशैभर ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ ५९औं राष्ट्रिय बाल दिवस मनाइएको छ । बाल दिवस मनाउन बालबालिकाहरु प्लेकार्डसहित ¥यालीमा निस्किएका थिए । तर गरिब, विपन्न वर्गका बालबालिका भने बिहानैदेखि दैनिक गर्जो टार्न काममा निस्किएका थिए । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ सार्की टोलका बालबालिकाको दैनिकी ढुंगा, गिट्टीसँगै बित्ने गरेको छ ।
गिट्टी कुटेरै उनीहरूको दैनिकीसँगै गुजारा पनि चलिरहेको छ । विद्यालय जानुपर्ने बालबालिका आर्थिक अभावका कारण सधैं गिट्टी कुट्दै दिन बिताउने गर्छन् । उनीहरुलाई घरमा बिहान–बेलुका छाक टार्न पनि समस्या छ । उनीहरुसँग विद्यालय जानका लागि कापी र कलम किन्ने पैसासमेत अभाव हुन्छ । जसकारण विद्यालय जानुपर्ने उनीहरू गिट्टी कुटेरै घरको आर्थिक अभाव पूरा गर्न अभिभावकलाई सघाउने गर्छन् ।
बुबा आमाको आयस्रोत नभएपछि यहाँका विपन्न, गरिब, दलित परिवारका बालबालिकाको अध्ययन प्रभावित भएको छ । ‘पैसा नहुँदा पढ्न पनि सकिँदैन । काम पाइहाले पनि थोरै मात्रा पैसा आउँछ, खान पनि पुग्दैन । त्यसैले गिट्टी कुट्न आएको हुँ,’ त्रिपुरासुन्दरी १ त्रिपुराकोट १२ वर्षीय बालिका कोपिला सार्कीले बताइन् । लगातार गिटी कुट्दा महिनामा दुई हजार रुपैयाँसम्म आम्दानी हुने उनले बताइन् ।
त्रिपुराकोटका यी बालबालिका उदाहारण मात्र हुन् । यहाँका अधिकांश विपन्न, गरिब र दलित परिवारका बालबालिकाको अवस्था यस्तै छ । उनीहरुले पढाइ खर्चसँगै विद्यालय निर्माणमा आवश्यक पर्ने गिट्टी कुटिरहेको शिक्षक मनबहादुर सार्कीले बताए । गिट्टी कुटेबापत उनीहरूले प्रति बोरा १०० रुपैयाँ पाउँछन् ।