२०८३ वैशाख ११ , शुक्रबार

कर्णालीमा एमालेप्रतिको आकर्षण घट्दो : ३० हजारले गरेनन् नविकरण



कुलेन्द्र शाही, सुर्खेत । गत ५ असारमा प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा एमालेका सचिव एवं कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले जनताले चाहेको पार्टी एमाले भएकाले एमालेमा अब सदस्यताको नवीकरणको संख्या बढ्ने दाबी गरेका थिए । उनले पार्टीमा आबद्ध भएका सदस्यहरू रोजगारीको सिलसिलामा देशदेखि बाहिर रहेकाले पार्टीमा सदस्यता नवीकरण गर्न नसकेको बताएका थिए ।

उनले भनेका थिए ‘हामीले स्वयम् व्यक्ति नै भौतिक रूपमा उपस्थित भएर पार्टीमा सदस्यता नवीकरण गर्न भनेका छौ, यसले केही समस्या भएको छ ।’ उनले भने, ‘कोही रोजगारीको सिलसिलामा देश बाहिर हुनुहुन्छ भने कोही जिल्ला बाहिर भएकाले सदस्यता नवीकरणको संख्या कम भएको हो, अहिले जनताले चाहेको पार्टी एमाले बाहेक अरु छैन्, अब नविकरण गर्नेको संख्या बढ्छ,’ तर उनले भनेअनुसार भएको छैन् ।

उनको त्यो बोली भने खेर गएको छ । किनकी कर्णालीमा एमालेका सदस्यहरुले नवीकरण गर्नेको संख्या भने एकदम न्युन देखिएको छ । यसरी पार्टीमा नविकरण गर्नेको संख्या न्युन भएकाले सांगठनिक संरचना र मतका हिसाबले सबैभन्दा दरिलो मानिएको कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले खिइँदै गएको मानिन्छ ।

चुस्त र व्यवस्थित ठानिएको उक्त दलका संगठित सदस्यहरूले सदस्यता नवीकरण नगरेपछि पार्टीको सदस्य संख्यामा उल्लेख्य ह्रास आएको छ । कर्णाली प्रदेशमा एमालेमा दुईवर्षमा भएका करिब ३० हजार ९९३ संगठित सदस्यहरुले नविकरण नगरेको पाइएको छ । यहाँ २० हजार १०९ जना नयाँ सदस्यहरु थपिएका छन् ।

२०७८ मा प्रदेशमा ६२ हजार ३ सय ८८ जना संगठित सदस्यहरु थिए । सिद्धर्दशनलाई उपलब्ध भएकोे तथ्याङ्गकअनुसार २०७९/०८० मा ५१ हजार ८ सय ३७ जना रहेका छन् । जसअनुसार २०७८ मा सबैभन्दा बढी दैलेखमा १३ हजार २१४ जना पार्टी सदस्यमा रहेकोमा ४ हजार ६ सय ४४ जनाले मात्रै नवीकरण गरेका छन् ।

यस्तै, सुर्खेतमा १२ हजार ९१ मध्ये ७ हजार २१५, कालीकोटमा ७ हजार ७२३ मध्ये २ हजार २४२, जुम्लामा ३ हजार २०२ मध्ये २ हजार ३९४, मुगुमा ४ हजार ८८९ मध्ये २ हजार ९७ जनाले नविकरण गरेका छन् । यस्तै डोल्पामा ४ हजार ९७३ मध्ये २ हजार ६४३, हुम्लामा ५ हजार २७८ मध्ये, ३ हजार ४१०, रुकुमपश्चिममा ३ हजार १२३ मध्ये ९ सय १२, सल्यानमा ३ हजार ७ मध्ये २ हजार २८२ र जाजरकोटमा ४ हजार ८८८ मध्ये ३ हजार १५४ जनाले मात्रै नवीकरण गरेको तथ्याङ्गकमा उल्लेख गरीएको छ ।

यी मध्ये सबैभन्दा बढी सुर्खेतमा १० हजार ५५८ सदस्य छन् । जसमा महिला तीन हजार ५५ र पुरुष ६ हजार दुई ८२ छन्, भने एमालेका सबै भन्दा कम संगठित सदस्य दुई हजार एक ७० जना रुकुम पश्चिममा रहेका छन् । जसमा महिला ६ सय ८१ र पुरुष एक हजार चार सय २८ छन् । यस्तै, जाजरकोटमा ६ हजार आठ सय (महिला १८ सय ८७ र ४ हजार ८४६ पुरुष) दैलेखमा ६ हजार ६५३ जना (१३ सय ६३ महिला, ५ हजार २७५ पुरुष) रहेका छन् ।

यसैगरी कालीकोटमा ६ हजार १०३ (१८ सय ९० महिला र ४ हजार २१७ पुरुष) हुम्लामा ४ हजार ६६५ (एक हजार ४ महिला र २ हजार ८६२ पुरुष), जुम्लामा ४ हजार ४४३ (१ हजार २३१ महिला र ३ हजार ६९ पुरुष) डोल्पामा ३ हजार ८३६ (१ हजार ४०६ महिला, २ हजार ८६२ पुरुष) र मुगुमा ३ हजार ३१ (६१२ महिला र एक हजार ९३१ पुरुष) छन् ।

यस्तै कर्णालीमा दलित सदस्यको संख्या ६ हजार ४ सय १० रहेका छन् । जसमा सबैभन्दा बढी सुर्खेतमा १ हजार ७१७ र कम सल्यानमा ११५ जना रहेका छन् । यस्तै दैलेखमा ८६६, कालीकोटमा ७१४, जुम्लामा ४८७, मुगमा ३६६, हुम्लामा ४६२, जाजरकोटमा १ हजार ४१५, डोल्पा र रुकुमपश्चिममा १३४ जना रहेका छन् ।

नविकरण गर्न भौतिक रुपमा उपस्थित हुने निर्णयले संख्या घट्यो : अध्यक्ष शाह
यता, एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले विगतमा अन्य पार्टीबाट एमालेमा आएकाहरु आ–आफ्नो पार्टीमा फर्केको हुँदा कर्णालीमा एमालेमा भएका सदस्यहरुको संख्या घटेको बताए । उनले कतियपय एमालकै सदस्यहरु भौतिक रुपमा उपस्थित भएरे नविकरण गर्न नसकेको हुँदा पनि एमालेमा सदस्यहरुको संख्यामा केही कमी देखिएको बताए ।

‘विगतमा अब माओवादी, एकीकृत समाजवादी लगायतका पार्टीबाट एमालेमा आएकाहरु आ–आफ्नै पार्टीमा फर्किए, उनले भने, ‘कोही त नेपालभन्दा बाहिर हुनुहुन्छ, हामीले नविकरण गर्ने बेलामा झन स्वयम् व्यक्ति भौतिक रुपमा उपस्थित हुने निर्णय ग¥यौ, त्यही भएर पनि उहाँहरु आउनसक्नु भएन् यसले झनै संख्या घटायो ।’

अधिवेशनको लागि आज प्रतिनिधि छनोट हुँदै
नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनका लागि नेकपा एमाले कर्णालीले शनिवार भदौ ३० गते प्रदेश अधिवेशन प्रतिनिधि छनोट गर्दै छ । असोज १० र ११ गते तोकिएको प्रदेश अधिवेशनका लागि आज प्रतिनिधि छनोट गर्न लागेको हो ।

नेकपा एमालेको कर्णाली प्रदेश कमिटीका कार्यालय बैठक इन्चार्ज लेखराज भट्टको नेतृत्वमा गत भदौ २० गते बसेको बैठकले प्रतिनिधि छनोट लगायतका निर्णय गरेको थियो । प्रदेश कमिटी बैठकले अधिवेशनमा सहभागिताका लागि प्रतिनिधि छनोट गर्दा खुला सदस्यतर्फ एक सय जना पार्टी सदस्य बराबार एक जना प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ ।

दलित पार्टी सदस्यतर्फ भने ७५ जना सदस्य बराबर एक जना प्रतिनिधि चयन गर्ने निर्णय गरिएको छ ।
सदस्य संख्याबाट शेष रहेको ५० प्रतिशत (१५० जना सदस्य हुन आएमा २ जना प्रतिनिधि) अंक बराबर पनि एक जना प्रतिनिधि थप हुने व्यवस्था प्रदेश कमिटीको बैठकबाट गरिएको छ ।

एमालेले अधिवेशनका लागि कर्णालीका १० वटा जिल्लाबाट पाँच सय ५० र जनवर्गीय संगठनबाट ५० जना गरि जम्मा ६० जना प्रतिनिधि छनौट भएर आउने जनाएको छ । पार्टीका २२ वटा जनवर्गीय संगठनहरु मध्ये २१ वटा संगठनलाई प्रतिनिधि चयनका लागि एमालेले निर्देशन समेत दिइसकेको छ । आठवटा जनवर्गीय संगठनलाई तीन÷तीन जना र १३ वटा संगठनले दुई/दुई जना प्रतिनिधि चयन गर्ने पाउने छन् ।

कुन जिल्लाबाट कति प्रतिनिधि ?
कर्णाली प्रदेशका १० ओटा जिल्लाको भूगोलबाट कुल ५५० जना प्रतिनिधि छानिएर आउँन लाग्दा सबैभन्दा बढी सुर्खेतबाट छनोट हुन लागेका छन् । जसमा सुर्खेतबाट खुल्लातर्फ महिला ३०, पुरुष ५६, दलित महिला ९ र पुरुष १८ गरी कुल ११२ जना प्रतिनिधि छानिएर आउन लागेका छन् ।

यस्तै दैलेखबाट खुल्लातर्फ महिला २० पुरुष ३९, दलित महिला ५ र पुरुष ८ गरी कुल ७२, सल्यानबाट खुल्लातर्फ महिला ८ पुरुष २२, दलित महिला २ र पुरुष ६ गरी कुल ३८ जना, जाजरकोटबाट खुल्लातर्फ महिला १८, पुरुष ३८, दलित महिला ६ र पुरुष १३ गरी कुल ७५ जना छनोट हुन लागेका छन् ।

यसैगरी रुकुमपश्चिमबाट खुल्लातर्फ महिला ६, पुरुष १२, दलित महिला २ र पुरुष ३ गरी कुल २३, डोल्पाबाट खुल्लातर्फ महिला ११, पुरुष २३, दलित महिला २ र पुरुष ३ गरी कुल ३९, मुगुबाट खुल्लातर्फ महिला ८, पुरुष १७, दलित महिला २ र पुरुष ६ गरी कुल ३२, जुम्लाबाट खुल्लातर्फ महिला १३, पुरुष २५, दलित महिला २ र पुरुष ६ गरी कुल ४६ र कालीकोटबाट खुल्लातर्फ महिला १६, पुरुष ३३, दलित महिला ५ र पुरुष १० गरी कुल ६५ जना छनोट हुन लागेका छन् ।

प्रकाशित मिति : २०८० भदौ ३० गते शनिबार