२०८३ वैशाख १२ , शनिबार

उपल्लो डोल्पामा सिमा सुरक्षा देखि इलाका प्रशासन स्थापनाको माग



जाजरकोट । उपल्लो डोल्पाका सिमा सुरक्षा बल स्थापना देखि इलाका प्रशासन कार्यालय स्थापना सम्मको माग राखि डोल्पाका जनप्रतिनिधिहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ ।

नेकपा (माओवादी केन्द्र) को तीन महिने अभियानको सिलसिलामा उपल्लो डोल्पाका स्थानीयबासीले उठाएको समस्यलाई मध्यनजर गर्दै प्रदेशसभा सदस्य बीरबहादुर शाही , राष्टियसभा सदस्य नरबहादुर विष्ट र जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारसिं रोकायले संयूक्त रुपमा गृहमन्त्री श्रेष्ठलाई ध्यानाक्रषण गराएको छ ।

कोभिडको समयदेखि अहिले सम्म उपल्लो डोल्पाका चिनसँग जोडिएका नाँकाहरु बन्द भएका कारण त्यहाँका नागरिकले भोग्नुपरेको समस्यलाई समेत अवगत गराएको छ । व्यापारिक नाकाहरु बन्द हुँदा उपल्लो डोल्पाका तीन पालिका भित्रका सर्बसाधारणले भोग्नुपरेको समस्यमा बारेमा समेत व्यापक छलफल भएको छ ।

डोल्पोबुद्ध ,शे फोक्सुण्डो र छार्काताङसोङ गाउँपालिकाको बीच भागमा पर्ने धो उपत्यका इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको पुर्वमन्त्री बीरबहादुर शाहीले बताए । त्यस्तै तीन वटा गाउँपालिकाको सिमानामा सिमा सुरक्षाबल स्थापना गर्ने गर्न समेत माग गरिएको छ । शे फोक्सुण्डो –१ निजाल र डोल्पोबुद्ध गापा –१ धोमा सिमा सुरक्षाबल राख्न समेत आग्रह गरिएको छ ।

त्यस्तै नेपाल र चिनको बीचमा रहेको सिमा क्षेत्र तिन्जे , मरिम , क्याटो ,निजालमा राजश्व कार्यालय स्थापना गरी यहाँका नागरिकलाई सहजता ल्याउन समेत आग्रह गरिएको पुर्वमन्त्री शाहीले बताए । उपल्लो डोल्पामा अहिले सदरमुकामबाट दैनिक उपभोग्य सामग्री लिन निकै चुनौति हुँदै आएको छ । चिनको बाटो हुँदै सामग्री लिएमा भारी मात्रामा खर्च कम हुने गर्दछ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उपल्लो डोल्पामा खाद्यान्न लिन समेत चुनौति मोल्दै आएको छ । कोभिडभन्दा अहिले सम्म त्यहाँका नागरिकले आयोडिन यूक्त अनुदानको नुन समेत प्रयोग गर्न पाएका छैनन् । त्यस्तै पुर्वमन्त्री शाहीले भेरी करिडोर भित्र रहेका पुलहरु निर्माणमा हुने गरेको ढिलाईका बारेमा समेत जानकारी गराएको छ ।

तल्लो भन्दा दुनै सम्म सडकको पिच गर्ने विषयमा समेत बजेट स्रोत सुनिश्चित गर्नका लागि पहल गरिदिन समेत आग्रह गरिएको छ । डोल्पाको समग्र विकास निर्माणका विषयमा समेत छलफल भएको पुर्वमन्त्री शाहीले बताए । रासस

प्रकाशित मिति : २०८० भदौ ३१ गते आइतबार