
कुलेन्द्र शाही, सुर्खेत । वीरेन्द्रनगरमा चक्रपथ निर्माण योजना सुरु भएको दुई दशक पुग्नै लाग्यो । तर, यसले कहिले पूर्णता पाउला भन्ने अनुमान कसैले गर्न सकेको छैन । एक हिसाबले भन्ने हो भने यो आयोजना नै चक्रव्यूहमा परेको प्रतीत हुन्छ । यति लामो समयसम्म पनि सडक निर्माण सम्पन्न हुनु त कहाँ हो कहाँ, पूर्वाधार निर्माणकै कामले गति नलिँदा सम्भावित चक्रपथ अन्योलमा परेको प्रष्ट हुन्छ ।
यसको चर्चा चलेको वर्षौ भए पनि समृद्धिको आधार मानिएको यो चक्रपथको निर्माण कार्य अझै अलपत्र नै छ । निर्माण थालिएको १८ वर्ष बितिसक्दा पनि करिब २९ किलोमिटर लामो चक्रपथको अहिलेसम्म २४ किलोमिटर मात्रै ट्र्याक खोलिएको छ । अझै पाँच किलोमिटर ट्र्याक खोल्न बाँकी नै छ ।
आयोजनाको हालसम्म ७२ प्रतिशत मात्रै वित्तीय प्रगति भएको सडक डिभिजन कार्यालय चौरजहारीले जनाएको छ । कार्यालयका प्रमुख आशुतोष कर्णले कतै स्थानीयको विरोध र कतै संरक्षित वन क्षेत्रका कारण चक्रपथ निर्माणको काम समयमै सम्पन्न गर्न नसकिएको बताए ।
उनले बाधा हटाउनका निम्ति वीरेन्द्रनगर नगरपालिकासँग बारम्बार आग्रह गरे पनि कुनै सुनुवाइ नभएको बताए । ‘अवरोध हटाउन पहल नभए चक्रपथको एलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने हुन्छ’, उनले भने। उनले स्थानीयको अवरोधका कारण हालसम्म ७२ प्रतिशत माथि काम भएको र अझै २८ प्रतिशत काम गर्न बाँकी नै जानकारी दिए ।
यति बेला सम्झौता सकिएकाले साउनबाट उक्त निर्माणको काम रोकिएको छ । गत आर्थिक वर्ष २०७९/०८० को असारमा चक्रपथ निर्माणको सम्झौता सकिएको छ । डिभिजन सडक चौरजहारी रुकुम–पश्चिमले आर्थिक वर्ष २०७३/०७४ मा चक्रपथ निर्माणको जिम्मा पाएको थियो । त्यति बेला २०७६ चैतमा सम्पन्न गर्ने सम्झौता भएको थियो ।
त्यसयता चक्रपथको काम नसकिएपछि दुई पटक म्याद थप भइसकेको छ । २०७७ असार २० गतेसम्मका लागि दोस्रो पटक म्याद थप गरिएको थियो । हालसम्म पनि काम सकिएको छैन । स्थानीयको विवादकै कारण वडा नं. २ र वडा नं. १० क्षेत्रमा ट्र्याकसमेत खोलिएको छैन । कार्यालयका सब इन्जिनियर असल ऐडीले अवरोध नै अवरोध हुँदा अपेक्षित काम गर्न नसकिएको जानकारी दिए ।
उनले निर्माणको काम ६० प्रतिशत मात्रै भएको बताए । उनले वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर २, ४ र ५ को क्षेत्रमा व्यक्तिगत घर, जग्गा पर्ने हुँदा विवाद भएको बताए । ‘डिपीआर गरेको ठाउँमा ठुलो ठुलो घर हालेको छन्,’ उनले भने, ‘अब उहाँहरूलाई हटाउन पनि धेरै समस्या छ, हामीले पहल गरिरहेका छौ । ’
विवादका कारण म्याद थप हुनेमा आशङ्का !
आयोजना विवादै विवादमा मुछिएको हुँदा यसको म्याद थप हुने सम्भावना एकदम कम देखिएको छ । अवरोध नै अवरोध हुँदा अपेक्षित काम गर्न नसकिएको भन्दै आयोजना विवादमा परेकाले यसको विवाद नसुल्झिए आयोजनाको म्याद थप हुनेमा आफूलाई शङ्का लागेको कार्यालयका प्रमुख कर्णले बताए ।
उनले भने, ’ जग्गाको विवाद धेरै छ, निर्माणको साउनबाट रोकिएको छ, विवाद नसुल्झिए आयोजनाको म्याद थप हुँदैन ।’ यता, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले पनि विवाद नसुल्झिए आयोजनाको म्याद थप नहुने जानकारी दिए ।
नगरपालिकाको कार्यक्षेत्रमा पर्दैन : उपप्रमुख खनाल
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले भने वीरेन्द्रनगर चक्रपथको अवरोधका विषयमा बुझ्न खोज्दा गैरजिम्मेवार जवाफ दिएका छन् । उनले यो आयोजना नगरपालिकाको कार्यक्षेत्रभित्र नपरेको हुँदा यस विषयमा सङ्घका माननीय तथा प्रदेशका माननीयहरूलाई सोध्नुपर्ने भन्दै पन्छिए । उनले प्रतिनिधि सभामा निर्वाचित भएका संसद् हृदयराम थानीसँग यो विषयमा बुझ्न जान भने ।
‘यो आयोजना नगरपालिकाको कार्यक्षेत्रभित्र पर्दैन, बरु प्रदेश तथा सङ्घका माननीयहरूलाई यो आयोजनाको अवस्था के छ भनेर सोध्नु होला, हामीले सहयोग र प्रयास गरिरहेकै छौ, प्रदेश सरकारलाई पनि पत्राचार गरेकै छौ,’ उनले गैरजिम्मेवार पारामा उत्तर दिँदै भने । उनले अन्तिम समयमा म्याद थप गरेर चक्रपथ निर्माणको काम सक्ने लक्ष्य अनुरूप नै पालिका लागेको पनि बताए ।
मन्त्रालयबाट पनि पहल भइरहेको छ : प्रवक्ता सुवेदी
भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका प्रवक्ता सुवेदीले आयोजना मन्त्रालयको मातहतबाट रहेकाले समस्याको समाधान खोज्ने प्रयास भइरहेको बताए । उनले वीरेन्द्रनगर नगरपालिका, वडा तथा प्रदेश सरकारसँग पनि विवाद बनेको आयोजनाको समस्या समाधान गर्ने प्रयास भइरहेको जानकारी दिए ।
उनले अतिक्रमणमा पर्ने जग्गाको उचित मूल्याङ्कन नगर्दा सुरुवातदेखि नै स्थानीयले अवरोध गर्दै आएको गुनासो गरे । खबरदृष्टिले डिपीआर गरेको ठाउँमा घर बनाएकालाई हटाएर क्षतिपूर्ति दिनसक्ने अवस्था मन्त्रालयसँग छ कि छैन भन्ने प्रश्नमा उनले त्यो अवस्था मन्त्रालयसँग नभएको प्रष्ट पारे ।
‘त्यसरी काम गर्नै सकिन्न, सङ्घले पनि अहिलेसम्म त्यसरी काम गरेको छैन, हामी पनि गर्न सक्दैनौ, सङ्घका कर्मचारीले पनि हेरिरहनुभएको छ, प्रदेशका कर्मचारीले पनि हेरिरहनुभएको छ,’ उनले भने ।