
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले काँग्रेस बैसाखी बिना टिक्नै नसक्ने पार्टी भएको आरोप लगाएका छन् । संविधान दिवसका अवसरमा कचहरी प्रेस क्लबले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले सत्तामा भएको पार्टी जनता अलमल्याउनेतर्फ लागेको बताए । ’चुनाव सकिएको एक वर्ष नहुँदै सरकारमा भएको पार्टी नै अभियान भनेर जनता अलमल्याउनेतर्फ लागेको छ ।’ उनले भने ।
नेता कँडेलले संवैधानिक प्रक्रिया पूरा गरेर छिमेकी जिल्ला बाँके र बर्दियालाई कर्णालीमा समावेश गर्न लाग्नुपर्ने बताए । संविधान जारी गर्दा नै कर्णाली प्रदेश रगत बगाएर प्राप्त भएको स्मरण गर्दै भौगोलिक र सामाजिक सांस्कृतिक रूपमा जोडिएका बाँके र बर्दियासहितको प्रदेश बनाएको भए उत्कृष्ट प्रदेश हुने उनको भनाइ छ ।
उनले कर्णाली सरकार मन्त्री उत्पादन गर्ने कारखाना बनेको समेत बताए । उनले भने, ’जति मान्छे आउँछन् सबैलाई मन्त्री बनाएर छोड्ने पार्टीबाट विकास हुन्छ भनेर मलाई केही विश्वास लागेको छैन ।’