२०८३ वैशाख १२ , शनिबार

डोल्पामा हराएका गुम्बाका मूर्ति बेवारिसे अवस्थामा फेला



पुर्ण कुमार, डोल्पा । माथिल्लो डोल्पाको एक घरबाट हराएका बुद्धका मूर्तिहरु फेला परेको छ । गत असार ८ गते शे–फोक्सुण्डो गाउँपालिका ४ का लार्जम लामाको घरबाट ९ वटा साना तथा ठूला बुद्धका मूर्ति, स्तुपा, पुलिक नगद लुटपाट भएको थियो । उक्त लुटिएका मूर्ति, स्तुपा प्रहरीले फेला पारेर जिल्ला प्रशासन कार्यालय डोल्पामा बुधाबार सार्वजानिक गरेको छ ।

हतियारधारीको समूहले लार्जम लामाको घरबाट लुटपाट गरेको बहुमुल्य मूर्ति, स्तुपा करिब २ महिनापछि डोल्पाबुद्ध गाउँपाकालिका–३ को फोलोङकार्बो भन्ने ठाउँमा बेवारिसे अवस्थामा फेला परेको हो ।

सेतो बोरामा निलो कपडाले छोपेको अवस्थामा भदौ २७ गते घाँस काट्न गएका स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि प्रहरीले नियन्त्रण लिएर हेर्दा हराएका मूर्ति भेटिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका (डीएसपी) एवम् प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।

डिएसपी बुढाथोकीले ओडारमा लुकाएर राखेको बोरामा बुद्ध स्तुपा थान १, धातुको जस्तो देखिने विभिन्न मूर्तिहरु ७ थान गरी ८ थान मूर्ति र स्तुपा फेला परेको बताए । चोरले सुरक्षा चेक पोइन्टहरुबाट जिल्ला बाहिर लग्न सक्ने अवस्था नभएपछि लुकाएर राखेको र अवस्था सामान्य भएपछि बाहिर लग्ने तयारी रहेको प्रहरीको निष्कर्ष छ ।

डिएसपी बुढाथोकीले स्तुपा, मूर्ति फेला पर्नु सकारात्मक पक्ष भएपनि उपलब्धि नभएको बताए । उनले अभियुक्त फेला नपरेसम्म प्रहरी निरन्तर लागि रहने बताउँदै सबैको सहयोगको खाँचो रहेको बताए ।

प्रहरीले फेला पारेका मूर्ति, स्तुपामध्ये ६ वटा लार्जम लामाको भएको भनेर उनकी छोरी पेम्बा पुटिक लामाले सनाखत गरिदिएको र अन्य दुई मूर्ति कुन गुम्बाका हुन् भन्नेबारे अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीले बताए ।

डिएसपी बुढाथोकीले फेला परेका मूर्ति कानूनी प्रक्रियाअनुसार पुरातत्व विभागमा पठाएर प्रमाणित हुने र थप अनुसन्धान गरिने बताए । माथिल्लो डोल्पामा सुरक्षा व्यवस्था नभएका कारण सयौं वर्ष पुराना बहुमुल्य मूर्तिहरु चोरी हुने गरेको छ ।

प्रकाशित मिति : २०८० असोज ३ गते बुधबार