२०८३ वैशाख १३ , आइतबार

अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँचका लागि अभिमुखीकरण गरिने



सुर्खेत । अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँचका लागि अभिमुखीकरण कार्यक्रम  गरिने भएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, कर्णाली प्रदेशको समूहबिच भएको छलफलमा सुर्खेत जिल्ला न्यायाधिवक्ता कार्यालयले न्यायमा पहुँच सहजिकरणका लागि सुर्खेतमा अपाङ्गता लक्षित प्रमाणमा आधारित अभिमुखीकरण कार्यक्रम गर्ने प्रतिबद्धता जनाएको छ ।

स्थानीय जनवकालत समिति वीरेन्द्रनगरसँगको भेटमा सुर्खेत जिल्ला न्यायाधिवक्ता नवीन कुमार भट्टले राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालसँगको सहकार्य र समन्वयमा समुदायका अपाङ्गता भएका व्यक्तिको न्यायमा पहुँच वृद्धि गर्न र सरकारी वकिल कार्यालय प्रदान गर्ने सेवा प्रवाहका बारे जानकारी दिने उद्देश्यले आफूहरू अपाङ्गता लक्षित अभिमुखीकरण कार्यक्रम गर्न तयार रहेको बताए ।

उक्त कार्यक्रमको लागि प्राविधिक सहयोग राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेश र व्यवस्थापन लगायतको पाटोमा जिल्ला स्थित न्यायाधिवक्ता र न्याय दिने निकाय सँग सम्बन्धित निकायले आपसी सहकार्य र समन्वय गर्ने बताइएको छ ।

छलफलमा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, कर्णाली प्रदेशका कोषाध्यक्ष सुरेश कुमार खड्काले अन्य व्यक्तिहरूको तुलनामा अपाङ्गता भएका र त्यसमा पनि बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू पीडित रहेका मुद्दाहरूमा प्रक्रियागत ढिलाइ हुने गरेको भन्दै सरकारी वकिल कार्यालयले उनीहरूका मुद्दाको अभियोजन, बयान र बहस लगायतका कुरामा प्राथमिकता दिनुपर्ने बताए ।

अपाङ्गताका हकमा पहिलो कुरा पीडित अन्यायमा परे पनि बाहिर खुल्न नसकेको र खुले पनि समय लामो लाग्ने तथा प्रक्रियागत संरचनामा समय धेरै लिनाले बयान परिवर्तन गर्ने र मुद्दा नै कमजोर बनाइने गरेको कोषाध्यक्ष खड्काको भनाइ छ । कार्यक्रममा सहभागीहरूले न्यायमा पहुँचका लागि प्रमाण कुन महत्त्वपूर्ण हो र कसरी सुरक्षा गर्ने लगायतका विषयमा जानकारीको अभावमा अहिले पनि कतिपय व्यक्तिहरू अन्याय सहेरै बसिरहेको बताएका थिए ।

राज्यले प्रदान गरिरहेका सेवा सुविधाको बारेमा जानकारी र न्यायिक प्रक्रियाका लागि वृहत् सचेतना सबै प्रकारका अपाङ्गता भएकाहरूलाई जरुरी रहेको सहभागी अपाङ्गता अधिकारकर्मीहरूको भनाइ छ ।

कार्यक्रममा सुर्खेत स्थित सरकारी वकिल, कार्यालयका न्यायाधिवक्ता, सहायक जिल्ला न्यायाधिवक्ता, राष्ट्रिय अपाङ्ग महासङ्घका प्रदेश जनवकालत अधिकृत जितलाल ढकाल र स्थानीय जनवकालत समिति वीरेन्द्रनगरका संयोजक वसन्त जैसी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८० असोज ५ गते शुक्रबार