२०८३ वैशाख १३ , आइतबार

मध्यपश्चिम विश्वविद्यालय कृषि सङ्कायमा अध्ययनरत विद्यार्थीद्वारा क्याम्पसमा तालाबन्दी



पूर्ण कुमार, डोल्पा । कर्णाली प्रदेशको राजधानी सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाट स्थित मध्यपश्चिम विश्वविद्यालय कृषि सङ्कायमा अध्ययनरत विद्यार्थीद्वारा क्याम्पसमा तालाबन्दी गरिएको छ । विद्यार्थीहरूलाई रामघाटमा पढ्न सहज वातावरण नबनेपछि विद्यार्थीहरूले असोज ७ गते देखि क्याम्पस तालाबन्दीको घोषणा गरेका हुन् ।
मध्यपश्चिम विश्वविद्यालयले सुर्खेतको वीरेन्द्रनगरमा कृषि संकायको लागि भौतिक संरचना नबनेको कारण विद्यार्थीहरूलाई भेरीगंगा ११ मा पर्ने  रामघाटको त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस हिम शिखर बहुमुखी क्याम्पसको भवनमा  पठनपाठन गराउँदै आइरहेको छ । पठनपाठनको क्रममा विद्यार्थीलाई चाहिने स्रोत, साधनदेखि लिएर अन्य सामग्री सहितको व्यवस्था नगरेपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनको क्रममा विद्यार्थीहरूले  “मान्दैनौँ कसैले हार जी.एस.ए.एफ वीरेन्द्रनगर सार’ जस्ता प्लेकार्ड देखाई प्रदर्शन गरिरहेका छन् । विद्यार्थीहरूलाई प्राक्टिकलको लागि समेत श्रोत साधनहरू नभएको आन्दोलनका संयोजक ईश्वर बुढाथोकीले जानकारी दिए ।
‘एउटा सामान्य बैङ्किङ कारोबार गर्न समेत वीरेन्द्रनगर धाउनु पर्छ, सुरुमा भर्ना गर्दा प्रहरी बिटदेखि लिएर सम्पूर्ण व्यवस्था हुन्छ भनेर भर्ना भयौ, तर अहिले त्यस्तो केही सुविधा छैन, उनले भने । झन्डै एक सय जना विद्यार्थी अहिले क्याम्पसमा अध्ययनरत छन् । विश्वविद्यालयले कृषि सङ्कायमा अध्ययनरत विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न खोजेको आन्दोलनरत विद्यार्थी तिलक सुवेदीले बताए ।
आन्दोलनरत विद्यार्थीले “स्टुडेन्ट वेलफेयर कमिटी“ द्वारा विज्ञप्ति जारी गरी  रामघाटमा बस्नको सुरक्षाको लागि धेरै जोखिम भएको, क्याम्पसमा अध्ययन र प्राक्टिकलको कुनै सुविधा नभएको, क्याम्पसमा होस्टेल व्यवस्था नभएको, घर भाँडामा बस्दा घरबेटीले मनपरी ढङ्गले भाँडा असुल्ने गरेको, स्वच्छ खानेपानीको व्यवस्था नभएको, एक वर्ष हुँदा पनि विद्यार्थीको परिचय खुल्ने गरी कुनै पनि परिचय पत्र नदिएको जस्ता विभिन्न १० बुँदे मागसहित विज्ञप्ति जारी गरेका छन् ।
यता, क्याम्पस प्रशासनले विद्यार्थीको सम्पूर्ण माग जायज भएको र चाँडै नै विद्यार्थीको मागलाई पूरा गरी क्याम्पसमा लगाएको ताला खुलाउने प्रयास भइरहेको  बताएको छ । क्याम्पसका कोर्डिनेटर डा. करण सिंह धामीले मङ्गलवार विश्वविद्यालयका प्रमुख सहितको टोली आएर विद्यार्थीसँग शान्तिपूर्ण वार्ता गर्ने गरी तयारी भइरहेको बताएका छन् । उनले विद्यार्थीसँगको वार्तालाई मङ्गलवार नै टुङ्ग्याएर बुधवारदेखि पुनः नियमित पठनपाठन सुरु हुने पनि जानकारी दिए ।
No description available.
प्रकाशित मिति : २०८० असोज ९ गते मंगलबार