२०८३ वैशाख १२ , शनिबार

कर्णालीमा नेतृत्व हत्याउन कँडेल र बाेगटी गुटबीच प्रतिस्पर्धा, गुलाब र मीनबहादुर टिम बनाएरै भिड्ने



कुलेन्द्र शाही, सुर्खेत । एमालेले पहिलो पटक सबै प्रदेशमा अधिवेशन गर्दैछ । देश सङ्घीयतामा गएपछि बनाइएका सङ्गठन कमिटीहरूको अवधि सकिएर अधिवेशनमार्फत सबै प्रदेशमा नयाँ नेतृत्व ल्याउन थालिएको हो । एमालेले लुम्बिनीमा अधिवेशन गरिसकेको छ भने कर्णाली, कोसी र बाग्मतीमा जारी रहेको छ । लुम्बिनीबाट सुरु भएको अधिवेशन यति बेला कर्णाली र बाग्मतीमा जारी छ ।

 

अधिवेशन सकिएको र जारी रहेको प्रदेशमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको चाहाना र निर्देशन विपरीत धमाधम निर्वाचन भइरहेका छन्। बुधवार कर्णाली प्रदेश अधिवेशनको उद्घाटन गरेका अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न नसके व्यक्तिगतरुपमा चुनाव लड्न सुझाव दिएका थिए। उनले गुटउपगुट बनाएर चुनाव नलड्न कार्यकर्ताहरूलाई निर्देशन दिएपनि त्यसको प्रस्ट अवज्ञा हुने देखिएको छ।

 

उनको निर्देशन र चाहानालाई कर्णालीमा मात्र होइन लुम्बिनी र बाग्मती प्रदेशमा पनि अवज्ञा गरिएको छ। अध्यक्ष ओलीले मात्रै होइन महासचिव शङ्कर पोखरेलले समेत अधिवेशनलाई सर्वसम्मत चयन गर्न सकेनन् । बिहीबार बन्दसत्र हुनुअघि महासचिव पोखरेलले सहमतिको उच्च प्रयास गरे । उनले सहमतिको कुनै छेकछन्द समेत नदेखेपछि उनी काठमाडौँ हानिए।

 

एमालेका एक केन्द्रीय सदस्यले भने, ‘महासचिव पोखरेलले नेताहरूसँग ‘वान टु वान’ भेटघाटमा सहमतिको प्रयास गर्नुभएको थियो तर, पनि स्थायी कमिटी सदस्य यामलाल कँडेल र गोरख बोगटीबिचको लडाइँले अधिवेशन निर्वाचनतर्फ लम्कियो ।’ प्रदेशको नेतृत्वको लागि दलहरूले तीन दिनसम्म अधिकतम प्रयास गरेपनि कँडेलको तर्फबाट पोलिटब्युरो सदस्य गुलाबजंग शाह र बोगटीको तर्फबाट मीनबहादुर शाहीले आफ्नो अडान नछाडेपछि सहमतिको प्रयास विफल भएर अधिवेशन निर्वाचनतर्फ मोडिएको हो।

 

नयाँ नेतृत्व छनौट गर्न अन्ततः शनिवार निर्वाचन हुँदै छ । नयाँ नेतृत्वको लागि शुक्रवार अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ । गुलाबजंग शाह, प्रेमबहादुर सिंह, राजबहादुर शाही, मीनबहादुर शाही र प्रकाश रोकायाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। उपाध्यक्षमा दानसिंह परियार, टेकराज पछाई र लालबहादुर महताराको उम्मेदवारी परेको छ ।  यस्तै, सचिवमा रुद्रबहादुर शाही, डण्डी शर्मा र ध्रुवबहादुर शाहीको परेको छ ।

 

उप–सचिव समावेशीमा मेनका पछाई र पद्मा खड्काको उम्मेदवारी परेको छ । यस्तै, उप–सचिव खुलामा नारायणकुमार शाह, रवीन्द्रराज शर्मा, रमेशकुमार शाही, बखतबहादुर भण्डारी, कमल शाही, धिरेन्द्रराज गिरी, तेजकुमार विकको उम्मेदवारी परेको छ । यस्तै, लेखा आयोगको अध्यक्षमा जितबहादुर मल्ल,  दीर्घराज न्यौपाने र सुरज थापाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कमिटीको कार्यालयले जनाएको छ । उम्मेदवारी दर्ता पश्चात् उम्मेदवारले भोट माग्न सुरु गरिसकेका छन् ।

 

उम्मेदवार गुलावजंग शाहले टिम बनाएर भोट माग्न सुरु गरिरहेका छन् भने अन्य उम्मेदवारले पनि टिम बनाएर भोट मागिरहेका छन् । अध्यक्षमा शाह र शाहीको बिचमै प्रतिष्पर्धा हुनेछ । उनीहरू दुवैले प्यानलै बनाएर चुनावी मैदानमा जाने तयारी गरेका छन् । शाह निवर्तमान कर्णाली  प्रदेश सभा सदस्य र गत मंसिरमा सम्पन्न दोस्रो प्रदेश सभा निर्वाचनमा पराजित भएका नेता हुन् भने शाही राष्ट्रिय योजना आयोगको सदस्य भइसकेका छन् ।

यसो हेर्दा प्रतिस्पर्धा राजबहादुर र गुलाबजंगको बिचमा हुनुपर्थ्यो। तर, यहाँ यसो हुने छैन। गुलावजंग र मीनबहादुरको टिम छ, राजबहादुरको छैन। यो अवस्थामा स्वाभाविक भिडन्तको अवसरबाट कर्णाली एमाले वञ्चित हुनेछ। नेताले टपक्क टिपेर ल्याएर टिमको नेता बनाए मदन भण्डारी जस्तालाई पनि कुनै एक ‘ऐसीकातैसी’ भण्डारीले हराउन सक्ने अवस्था अहिले व्याप्त छ।

 

मीनबहादुरलाई एमाले पार्टीले छोटो समयम धेरै अवसर दिएको देखिन्छ। एउटा एनजिओकर्मीको पगरी हटाइदिने हो भने उनको एमालेमा त्यस्तो विशेषता केही रहँदैन। उनीमाथि पैसाको बल, नेताहरूलाई रसिद पानीको व्यवस्था र एउटा चालू गैससको ‘चल्ताफिर्ता व्यक्तिबाहेक एमाले पार्टीको सङ्गठन विस्तारमा केही नभएको आरोप लाग्ने गरेको छ। शाही कर्णाली प्रदेश छिर्दा होस या प्रदेश राजधानी सुर्खेत रहँदा होस पार्टी र पार्टी कार्यकर्ताको सम्पर्कमा रहेको कुनै पनि कार्यकर्ताले ठोकुवा गरेर भन्ने अवस्था छैन।

 

केही थान एनजिओ र आफ्नो समुदाय (ठकुरी) बाहेक उनलाई आफ्नो लाग्ने अर्को जातको व्यक्ति नभएको उनी माथि गम्भीर आरोप छ। उनलाई एमालेको नेता भन्दा पनि ‘प्यओर गैससकर्मी’ र ठकुरी बावुसापू को रूपमा एमाले कार्यकर्ताले चिन्ने गर्दछन्। अर्कोतर्फ गुलाब र राजबहादुरको राजनीतिक हैसियत उच्च र पार्टीमा लामो योगदान छ। अझ सल्यानमा गुलाब मात्रै निष्क्रिय बस्दा त्यहाँ एमाले राप्रपा भन्दा पछाडि पर्ने एमाले कार्यकर्ता टोपनारायण भण्डारी बताउँछन्।

 

गुलाब कर्णाली प्रदेशको एकमात्रै भर्भराउदो नेताका रूपमा आफूलाई निखार्दै अघि बढेको उनको भनाइ छ।  राजबहादुर शाही एमाले कर्णालीमा शालीन नेताकारुपमा चिनिन्छन्। सामान्य कार्यकर्ताको पनि कुरा सुन्ने, सामान्य कार्यकर्ताको पनि भावना बुझ्ने, नेतृत्वसँग डटेर आफ्ना कुरा राख्न सक्ने नेता शाही नेता र कार्यकर्ता भन्दा पनि ‘लेम्यान तहमा अझ लोकप्रिय छन्।

 

एउटा टिमले समाइदिएको भए उनलाई अध्यक्षको दह्रो प्रतिस्पर्धी र योग्य उम्मेदवार मान्न सकिन्थ्यो  जे होस एमाले भित्र प्रदेश तहमा भइरहेको यो अधिवेशनले एमाले कता जाँदै छ भन्ने दिशानिर्देश गर्ने जानकारहरू बताउँछन्। पुराना पार्टीका गतिविधिबाट वाक्क दिक्क भएका जनतालाई एमालेको यो अधिवेशनले कस्तो सन्देश दिन्छ, त्यो हेर्न बाँकी छ।

प्रकाशित मिति : २०८० असोज १३ गते शनिबार