
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर नजिक रहेको उषा बालबाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ बर्षीय बालक शंकास्पद अवस्थामा मृत भेटिएका छन् । मृत भेटिएका बालक दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–१ का ८ वर्षीय सलाम पुलामी मगर हुन् ।
उनी उषा बालबाटिकामा कक्षा २ मा अध्ययनरत थिए । होस्टेलमा उनी झुण्डिएको अवस्थामा फेला परेका छन् । शुक्रवार साँझ झुण्डिएको अवस्थामा फेला परेका बालकको शव अहिलेसम्म उठाइएको छैन । आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै लास उठाउन दिएका छैनन् ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपलाचन्द्र भट्टराईले घटना शंकास्पद रहेको र अनुसन्धान गरिने बताए । त्यहाँ अहिले प्रहरी तैनाथ गरिएको छ । आक्रोशित आफन्तहरुले आन्दोलन गरेपछि उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।
आक्रोशित भीडले घटनाको छानबिन गर्नुपर्ने भन्दै तोडफोडमा नै उत्रिएको छ । भीडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको छ । प्रहरीले संचालक समितिलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको छ ।