२०८३ वैशाख १२ , शनिबार

चितुवाको आक्रमणबाट चार जना घाइते



सुर्खेत । सल्यानमा चितुवाको आक्रमणबाट चार जना घाइते भएका छन् । घाइते हुनेमा छत्रेश्वरी गाउँपालिका–३ दोली गाउँका ४० वर्षीय राजु केसी, सोही ठाउँका १६ वर्षीय छविलाल केसी, २७ वर्षीय भीमसेन थापा र ४० वर्षीय टेकबहादुर थापा रहेका छन् । । घाइतेमध्ये राजुको अनुहार, हात खुट्टामा घाउ लागेको र उनको जिल्ला अस्पताल खलङ्गामा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिए ।

अन्य तीनै जनाको स्थानीय मेडिकलहरूमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । डिएसपी कार्कीका अनुसार सोमबार बिहान ९ बजेतिर छत्रेश्वरी–३ दोलीका पूर्णराज विकले सञ्चालन गरेको कुखुरा फार्मभित्र चितुवा पसेको थियो । स्थानीयले त्यसबाहिर पासो थापेका थिए । स्याल र बाघसमेत बाख्रा तथा कुखुरा खान आउने हुँदा स्थानीयले पासो थापेका थिए ।

खोरभित्र पसेर केही कुखुरा मारेपछि बाहिर निस्कने क्रममा चितुवा पासोमा फसेको थियो । राजु केसीले तीन चारवटा मरेका कुखुरा देखेपछि ढोका खोलेर हेर्दा चितुवाले आक्रमण गरेको बताइएको छ । अहिले उक्त चितुवालाई नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । इलाका वन कार्यालय लुहामको समन्वयमा बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी चितुवा नियन्त्रणका लागि सल्यान आएको डिएसपी कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० असोज १५ गते सोमबार