काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई कसैले पराजित गर्न नसक्ने बताएका छन् । एमालेलाई रोक्न खोज्नु सूर्यलाई रोक्न खोज्नु जस्तै भएको उनको टिप्पणी छ । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत आइतबार काभ्रेको कुन्ताबेँसीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेकपा एमालेसँग एक्लाएक्ला एक्लै लड्ने आँट कोहीसँग नभएको दाबी गरे ।
उनले भने, ‘नेकपा एमाले कसैले रोक्दा रोकिने पार्टी होइन, कसैले सिद्धाउन खोज्दा सिद्धिने पार्टी पनि होइन ।’ ओलीले गठबन्धन सरकार बनेपछि विकासको काम रोकिएको बताए । रोकिएको काम नेकपा एमालेले फेरि सुरु गर्ने उनको भनाइ छ ।
एमालेलाई राम्रो काम गरेबापत सरकारबाट हटाइएको बताउँदै ओलीले एमाले सरकारबाट हटेपछि देशमा निराशा र अराजकता बढेको टिप्पणी गरे । यसको अन्त्य नगर्ने हो भने देश बरबाद हुने उनको दाबी छ । देशमा, शान्ति, सुव्यवस्था र समृद्धिको आकाङ्क्षा नेकपा एमाले राखेको बताए ।
यसको लागि मिसन २०८४ एमालेले अघि सारेको ओलीले बताए । नेकपा एमाले हुँदा हुँदै देशलाई बरबाद हुन दिँदैनौँ भन्ने सङ्कल्पका साथ मिसन २०८४ मा लाग्नु पर्नेमा उनले जोड दिए । देशलाई जोगाउन एउटा मजबुत राष्ट्रिय शक्ति आवश्यक रहेको भन्दै ओलीले एमाले राष्ट्रिय शक्ति भए पनि त्यसलाई थप मजबुत बनाउन आवश्यक रहेको बताए ।