विराटनगर । धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले प्रमुख हर्क साम्पाङले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीका तस्वीर हटाएर गलत गरेका प्रतिक्रिया दिएका छन् । बिहीवार लोकान्तरसँग कुरा गर्दै उनले मेयर साम्पाङले संविधानले तय गरेको मर्यादालाई पालना गर्नुपर्ने बताए ।
‘हामी सबै व्यवस्था र संविधानप्रति उत्तरदायी र जिम्मेवार बन्नुपर्छ,’ उनले भने, ‘संविधानले तय गरेको मर्यादालाई उहाँले पनि पालना गर्नुपर्ने होजस्तो मलाई लाग्छ ।’ उपमेयर बेघाले आफ्नो कार्यकक्षमा राष्ट्रपति रामचन्द्र पौडेर र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुवैको तस्वीर रहेको पनि उनले जानकारी दिए ।
‘यसर्थ, मलाई मेयर साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीका तस्वीर हटाउनु भएको भन्ने विश्वास नै लागिरहेको छैन । तर विभिन्न माध्यमले थाहा पाएँ यो सही समाचार रहेछ ।’ मेयर साम्पाङले बिहीवार मात्रै आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएर किरातकालका प्रथम राजा मानिएका यलम्बरको तस्वीर राखेका छन् ।
यसलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आइरहेका छन् । संघीय सरकारले धरानलाई महत्त्व नदिएको गुनासोस्वरुप आफूले मेयर साम्पाङले राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डको तस्वीर कार्यकक्षबाट हटाएको बताएका छन् ।
मेयर साम्पाङले धरानमा विमानस्थलको बनाउने अडान राखेका थिए । तर यसलाई केन्द्र सरकारले अस्वीकार गरेको थियो ।