
सुर्खेत । रोजगारी अनुमति प्रणाली (ईपीएस) को परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा दुई युवकको मृत्यु भएको घटनाको विरोधमा आन्दोलन संघर्ष समिति सुर्खेतले आइतबार सुर्खेतमा सरकारी सवारी साधन पूर्णरुपमा बन्दको आह्वान गरेको छ ।
साथै संघर्ष समितिले आइतबार दिउँसो १२ बजेदेखि १ बजेसम्म एक घण्टाका लागि सम्पूर्ण सवारी साधन बन्दको आह्वान पनि गरेको छ । आन्दोलन भइराखेको ठाउँमा जवजस्ती झण्डा हल्लाउँदै भीडमा प्रवेश गर्ने भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र गोली हान्न आदेश दिने गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा र घटनामा संलग्न अन्यलाई कानुन अनुसार काराबहीको माग गर्दै सवारी साधन बन्दको आह्वान गरिएको संघर्ष समितिले जनाएको छ ।
यो हेर्नुहोस् – बालकुमारी घटना : गृहमन्त्रीको राजीनामा माग गर्दै वीरेन्द्रनगर प्रदर्शन
शुक्रबार ललितपुरमा झडपका क्रममा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो । रावतको छातीमा निलो डाम देखिएको थियो भने शाहको प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।
मृतकका आफन्त, शुभचिन्तक र शुभेच्छुकहरुले दोषीलाई कारबाही, मृतक युवाहरुलाई शहीद घोषणा, पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालनपालनको ग्यारेन्टी लगायतका मागहरु राख्दै कर्णाली प्रदेशको राजधानी सुर्खेतसहित विभिन्न जिल्लाहरुमा आन्दोलन गरिरहेका छन् । संघर्ष समितिले चरणबद्ध आन्दोलनमा सबैलाई साथ, सहयोग र समर्थन गर्न अपिल गरेको छ ।
यो पनि हेर्नुहोस् – बालकुमारी घटना : मृतकका परिवारलाई सरकारले जनही १० लाख राहत दिने
यो पनि हेर्नुहोस् – प्रहरीको गोलीबाट मारिएका शाहका बुवासहित आफन्त लागे बालुवाटार
