२०८३ साउन १४ , बिहीबार

कास्की हिरासत पुगेर भट्टराईले भेटे लामिछाने



काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्। शुक्रबार बिहान कास्की पुगेर भट्टराईले लामिछानेलाई भेटेका हुन्।

भेटपछि पत्रकारहरूसँगको कुराकानीमा भट्टराईले लामिछानेमाथि एकपछि अर्को गरेर दुःख दिने काम अस्वाभाविक र अन्यायपूर्ण रहेकाले ऐक्यबद्धता जनाउन आएको बताए। ‘रविजीप्रति सधैं सद्भाव छ, स्वास्थ्य कस्तो छ भनेर बुझ्न पनि आएको हुँ, स्वस्थ नै हुनु हुँदोरहेछ,’ उनले भने।’

उनले पचासौं लाख साना बचतकर्ताहरूको समस्या हल गर्नतिर सरकार नलागेको पनि बताए। एकातिर लामिछानेमाथि कारबाही प्रक्रिया लम्ब्याएर अर्कातिर सहकारी पचासौं लाख त्यस्ता बचतकर्ताहरूको समस्यालाई विषयान्तर गर्न खोजिएको भट्टराईको भनाइ छ।

‘सहकारी पीडितको समस्यालाई विषयान्तर गरिँदैछ, राज्यले चाह्यो भने गर्न सक्छ। पहिला स-साना बचतकर्ताहरूलाई राहत दिने र पछि ज-जसले अपचलन गरेका छन् तिनको सम्पत्ति जफत गरेर राज्यले लिए भयो त,’ उनले भने।

आफूसँगको भेटमा लामिछानेले पनि राज्यले प्रतिशोध साधेको बताएको भट्टराइले सुनाए। यद्यपि राज्यलाई सहयोग गरेको र आगामी दिनमा पनि गर्ने बताएको भट्टराइको भनाइ छ।

प्रकाशित मिति : २०८१ मंसिर २१ गते शुक्रबार