काठमाडौं । कैलालीको गोदावरी नगरपालिकाका ४६ जना नेता–कार्यकर्ताले नेकपा (एमाले) परित्याग गरेका छन् । उनीहरूले सोमबार एमाले छाडेको घोषणा गरेका हुन् । एमाले परित्याग गर्नेहरू नेकपा विघटनपछि एमालेमा लागेका नेता–कार्यकर्ता रहेको पाइएको छ ।
एमाले भएर बस्दा आफूहरूले पटक–पटक पूर्वमाओवादीको रुपमा अपमानित हुनुपरेको उनीहरूको गुनासो छ । एमाले परित्याग गर्नेमा नगर कमिटी सदस्य कल्पनाकुमारी विकदेखि संगठित सदस्य फगी कामीसम्म छन् । उनीहरूले एमालेका गोदावरी नगर अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा दिएका छन् ।
महासचिव शंकर पोखरेल र अन्य केही नेताले जनयुद्धका बारेमा लगातार प्रहार गरेपछि अब एमालेभित्र आफूहरूले बसिरहन आवश्यक नठानेको उनीहरूको भनाइ छ । ‘खासगरी महासचिव शंकर पोखरेल र अन्य केही नेताले जनयुद्धका बारेमा लगातार प्रहार गरेपछि अब यहाँभित्र हामीले बसिरहनु आवश्यक ठानेका छैनौं । त्यसैले आजकै मितिदेखि हामी ४६ जना कमरेडहरूले एमाले परित्याग गर्ने निर्णय गरेका छौं,’ राजीनामा पत्रमा भनिएको छ ।