काठमाडौं । काठमाडौंमा भूकम्पले आत्तिएका एक व्यक्तिले घरको छतबाट हाम फालेका छन् । चाटारका ती व्यक्तिले मंगलबार बिहान भूकम्पले हल्लाउनेवित्तिकै घरको छतबाट हाम फालेका हुन् । उनको परिचय भने खुलाइएको छैन । उनको अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । भूकम्पले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ स्थित प्रहरी चौकीको भवन चर्किएको गृह मन्त्रालयले जनाएको छ ।
यसैगरी बाराको कलैया उपमहानगरपालिका-१ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएका थिए । उपचारपछि उनीहरू डिस्चार्ज भइसकेका छन् । मन्त्रालयका अनुसार रामेछापमा एउटा गोठ भत्किएको छ । ओखलढुंगा र सोलुखुम्बुमा पनि मानिस नबस्ने केही घरमा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।
आज बिहान ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँ केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । नेपालका कोशी, मधेश र बागमती प्रदेशका जिल्लाहरुमा महसुस भएको थियो । काठमाडौंबासी आत्तिएर घरबाहिर निस्किएका थिए । भूकम्पले चीनको दिंगेकान्टीमा कम्तिमा ५० जनाको मृत्यु भएको छ । भूकम्पले केही घरहरू भत्किएको चिनियाँ समाचार संस्था सीजीटीएनले जनाएको छ ।