२०८३ वैशाख ८ , मंगलबार

केन्द्रकाे निर्णयलाई चुनाैती दिदै एमाले सुर्खेतले भन्यो: शर्मालाई जिताउन सकिदैन



नेकपा एमाले सुर्खेतकाे जिल्ला सचिवालय बैठकले सुर्खेत १ (ख) काे टिकट परिवर्तन नभए निर्वाचन जिताउन नसकिने र हारकाे जिम्मेवारी केन्द्रीय कमिटीले लिनुपर्ने निर्णय गरेको छ।

सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमाले सुर्खेतका अध्यक्ष अमृतकुमार विसीकाे अध्यक्षतामा आज विहान बसेकाे बैठकले पार्टीको अन्तरपार्टी निर्देशन बमोजिम एकल रुपमा सिफारिस भएका निवर्तमान प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री खड्कवहादुर खत्रीलाई टिकट नदिएर सिफारिसमै नपरेका प्रदेश कमिटी सदस्य डण्डीप्रसाद शर्मालाई टिकट दिनु पार्टी विधान र निर्देशन बिपरित भएको निर्णय गरेकाे छ।

बैठकले सम्बन्धित निर्वाचन क्षेत्रमा नामावली समेत नभएका र सधैं पार्टी अनुशासन उलङ्घन गरि पार्टीका विरुद्धमा सार्वजनिकरुपमा लागेका शर्मालाई उम्मेदवार बनाउदा आम कार्यकर्ता र मतदाताकाे भावना प्रतिकुल हुने ठहरसमेत गरेको छ।

‘शर्मालाई उम्मेदवार बनाउने निर्णयलाई जिल्ला कमिटी सुर्खेत पूर्णरूपमा असहमति प्रकट गर्दछ,’ निर्णयमा उल्लेख गरिएको छ।

खत्रीलाई गत भदौ १८ गते बसेकाे नेकपा एमाले प्रदेश समन्वय समितिकाे बैठकले एकलरुपमा नाम सिफारिस गरेको थियाे। एकल रुपमा सिफारिस भएपछि उनी प्रचार-प्रसारमासमेत जुटिसकेका थिए।

आउँदाे मंसिर ४ गते ताेकिएकाे प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनका लागि दलहरूले धमाधम उम्मेदवार चयन गरिरहेका छन्। यसअघि शर्माले सुर्खेतकाे प्रतिनिधि सभा १ मा उम्मेदवार बन्ने चाहाना राखेपनि एमाले समन्वय कमिटीकाे बैठकले निवर्तमान सांसद धुर्वकुमार शाहीलाई सिफारिस गरेको थियाे।

प्रकाशित मिति : २०७९ असोज २२ गते शनिबार