
सुर्खेत। सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका चार बालकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश दिपक ढकालको एकल इजलाशले उनीहरूलाई थुनामा पठाउन आदेश दिएको हो । चारै जनाविरुद्ध जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगमा अभियोगपत्र दायर भएको थियो ।
अदालतका सूचना अधिकारी उज्वल रावलले घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान पूरा नहुँदासम्म थुनामै राखेर मुद्दा अघि बढाउने आदेश भएको जानकारी दिए । यद्यपि, कानूनी विवादमा परेका ति बालकलाई कारागार नभई बालसुधार गृहमा पठाइने छ । गत २३ फागुनमा विद्यालय जान्छु भन्दै घरबाट निस्किएकी वीरेन्द्रनगर–१ कि १६ वर्षीय इनिशा घर नजिकैको जंगलमा अचेत अवस्थामा फेला परेकी थिइन् ।
उनी वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले उनलाई कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो । सोही दिन घटनास्थलबाट उनका प्रेमी भनिएका १६ वर्षीय अनमोल गौलीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।
गौलीको बयानपछि थप तीन जना किशोरलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान थालेको थियो । पक्राउ परेका ती किशोरले इनिशासँग शारीरिक सम्पर्कपछि भएको अत्यधिक रक्तश्रावका कारण बेहोस भएको बयान दिएका थिए।
उक्त घटनामा प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै आइतबार चारै जनाविरुद्ध अदालतमा अभियोग दर्ता गराएको थियो ।