काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नेताहरुले खेलाउने थलो बनाएको आरोप लगाएका छन् ।
राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा आएको ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद शाहीले यस्तो आरोप लगाएका हुन् ।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सबल बनाउन लोकसेवा आयोगबाट प्रमुख आयुक्त नियुक्ति गर्न माग गरेका छन् । अख्तियारलाई संवैधानिक आयोग भनिएता पनि पार्टीको कार्यकर्तालाई प्रमुख आयुक्त नियुक्ति गर्ने प्रवृत्ति रहेको बताएका हुन् ।
उनले भने, ‘संवैधानिक आयोग भनिएको छ । तर पार्टीको कार्यकर्तालाई खोजी खोजी प्रमुख आयुक्त नियुक्त गरेका छन् यसलाई लोकसेवाबाट नियुक्ति गरौं ।
अनि अख्तियार अनुसन्धान आयोगका कर्मचारीले जतिपनि भ्रष्टाचार गर्ने भएको छ । अख्तियार अनुसन्धान आयोगलाई साच्चीकै सबल बनाउने हो भने लोकसेवा आयोगबाट नियुक्ति गर्न माग गर्छु ।’