२०८२ माघ १७ , शनिबार

नगरौ बस्न सकिन्न, गरौ अख्तियारले समाउँछ : कामेश्वर सिँह



इन्जिनियर्स एशोसिएसनका अध्यक्ष कामेश्वरप्रसाद सिँह

सुर्खेत । देशका विकास निर्माणका कामहरुमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण रहेको हुन्छ । भौतिक पूर्वाधारको क्षेत्रलाई विकासको मेरुदण्ड मान्ने हो भने देशले ठूला भौतिक संरचनाहरुको निर्माण गर्न सकेको छैन। सकभर काम नै हुँदैन, भएपनि गुणस्तरहीन छ । भ्रष्टाचारको गन्ध नभएको कुनैपनि काम छैन् ।

यति हुँदाहुदै पनि डिप्लोमा इन्जिनियरहरुले ठूलो दुख भोग्नु परेको उनीहरू गुनासो गर्दछन। उनीहरूले पनि काम गर्दा ठूलो दुख हुने गरेको एक कार्यक्रममा पीडा पोखे। काम नगरौ गाउँ बस्ने अवस्था नहुने, गरौ अख्तियारले समाउने डर ! अझ जनप्रतिनिधिहरुले दिने टर्चर वयान गर्न साध्य नभएको उनीहरूको दुखेसो छ।

समग्रमा डिप्लोमा इन्जिनियर्सहरुको वर्तमान अवस्था र देशको विकास र निर्माणमा उनीहरूको योगदानबारे डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपालका राष्ट्रिय अध्यक्ष कामेश्वरप्रसाद सिँहसँग सुर्खेत आएको समयमा खबरदृष्टिका संवाददाता कुलेन्द्र शाहीले गरेका कुराकानीका केही अंशहरु :

डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल (डीन) भनेको के हो ? यसको स्थापना कहिले भएको हो ?

यसको स्थापना २०३७ साल जेठ ११ गते भएको हो । त्यतिबेला यस संस्थाको नाम नेपाल ओभरसियर एशोसियसनको नामबाट सुरु भएको हो । तर, समय र परिस्थिति अनुसार पहिला ओभरसियर मात्र नभई देशका अरु सव–इन्जिनियरलाइ पनि समेट्दै जाँदाखेरि यसमा एकचोटी नेपाल इन्जिनियर टेक्निसियन एशोसिएसन भएको थियो। जब यो संस्था सार्क लेभलमा गयो, त्यसपछि अरु पनि देशका नामसँग मिल्दो–जुल्दो डिप्लोमा इन्जिनियर्स एसोसिएसन डिन भनेर राखेका हौं ।

आम मानिसले डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल (डीन) लाई छोटकरीमा कसरी बुझ्ने ?

डीन भनेको संस्था निश्चित रुपमा देश निर्माणमा लाग्ने संस्थाको रुपमा चिनिन्छ । र, देशभरी छरिएर फिल्डमा काम गर्नुपर्ने अवस्थामा हामी छौ। निर्माणको क्वालिटीको कुरा गर्नुप¥यो भने डीन बाहेक अरुले यस्ता काम गर्न सक्दैनन् । यो कुरामा म विश्वस्त छु । मलाई जहाँसम्म विश्वास छ, डीनका पदाधिकारीहरु कम नियुक्ति भएको कारणले गर्दा देशले निर्माणको गुणस्तरीयता कायम राखेर काम गर्न सकेको छैन् ।

डिप्लोमा इन्जिनियर्सले देशभरी छरिएर रहेका डिप्लोमा लेवलका साथै प्रि–एसएलसी पछि पन्ध्र महिने तालिम सकेर दुईवर्षे कार्य अनुभव भएका प्राविधिकहरुलाई समेट्ने संस्था हो । यसले डिप्लोमा लेवलका इन्जिनियरहरुको क्षमता विकासका लागि काम गर्दै आएको छ ।

देशभरबाट कति सदस्य हुनुहुन्छ ? यसको अहिलेसम्मको उपलब्धी कस्तो रह्यो ?

डिप्लोमा इन्जिनियरिङका क्षेत्रमा हामीले ठुलो उपलब्धी हासिल गरेको छौ । हाम्रो संस्थाले देशमा मात्र होइन विदेशमा पनि सम्बन्ध बिस्तार गरिसकेको अवस्था छ । हाम्रो संस्थाको सुरुवात वि.स २०३७ मा वौद्धको एउटा सानो कोठाको गुन्द्रीबाट गरेका थियौ। त्यस्तो अवस्थाबाट अहिलेसम्मको अवस्थामा आइपुग्नु डीनको ठुलो सफलता हो । संस्थाले देशमा मात्र नभई विदेशमा समेत महत्वपूर्ण कार्यक्रमहरु गर्दै आएको छ ।

डिप्लोमा इन्जिनियरहरु कति एसोसिएसनमा आवद्ध हुनुहुन्छ ?

एशोसिएसनको कुरा गर्ने हो भने त देशभरमा अरुपनि होलान। जसमा प्राविधिक संजाल छुट्टै छ । तरपनि यसको सम्वन्ध सार्कसँग बढी छ । डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल लगायत पाकिस्तान, भारत, बंलादेश, श्रीलंका, म्यानमार र अफगानिस्तानसमेत आठ वटा देशको संस्था हो ।

यस संस्थामा हाम्रो तथ्यांक अनुसार हालसम्म हाम्रो सदस्य संख्या एकिन त छैन्, तर एक लाखको हाराहारीमा सदस्य रहेको अनुमान छ । देशभित्रै बढिरहेको डिप्लोमा इन्जिनियरहरुको संख्या अनुसार हाम्रो सदस्य संख्या करोडौ हुनुपर्ने हो । विडम्बनाका के छ भने डिप्लोमा इन्जिनियरहरुको क्षमता अभिवृद्धिका लागी कामगर्ने संस्थामा सरकारी नीतिका कारण डिप्लोमा इन्जिनियरहरु आवद्ध हुन सकिरहेका छैनन् ।

कर्णाली प्रथम सम्मेलन सम्पन्न भएको छ । अब कर्णालीमा यो संगठन कसरी अगाडि बढ्छ ?

पहिले त यहाँ निकै गा¥हो भएको थियो । हाम्रो केन्द्रतिर सिधै केन्द्रीय अध्यक्ष वा उपाध्यक्ष हुन्थ्यो । अब अहिले हामीले कर्णालीका १० वटा जिल्लाका पदाधिकारी हाम्रो संस्थामा आवद्ध हुन्छन् । र आफ्नो आफ्नो जिल्लाको एउटा जिम्मा उहाँहरुले लिनुहुन्छ ।

त्यसले गर्दा अब चाँही केन्द्रीय पदाधिकारी जान नसकेपनि हाम्रा पदाधिकारीहरुले प्रदेशको समितिको सदस्य भएको नाताले सबै रेकर्ड ल्याउने छन् । अब जिल्ला जिल्लामा अधिवेशनहरु हुँदै छन। र, कतिपय जिल्लाले अधिवेशन गर्ने तयारी गरेका छन । कति सदस्यहरुको अवधि पुग्न लागेको छ अनि कतिको सरुवा भएको कारणलेपनि पुनः गठन गर्नुपर्ने अवस्था छ।

कतिपय अध्यक्ष ज्यूहरु प्रमोशन भएर माथि प्रदेशमा अथवा केन्द्रमा गइसक्नु भएको छ । त्यसले गर्दापनि हामीले जिल्ला अधिवेशनहरु गर्नुपर्ने आवश्कता छ र यसलाई निरन्तर गर्छाै । कर्णालीका कुनैपनि जिल्लामा अहिलेसम्म अधिवेशन भएको छैन् ।

अहिले तपाईहरु प्रदेश अधिवेशनमा लागिरहनु भएको छ । तपाईंहरूले कुन-कुन प्रदेशमा सम्मेलन गर्नुभयो ? अब कुन प्रदेशमा सम्मेलन गर्न बाँकी छ ?

हामी अहिले प्रदेश सम्मेलनमा छौँ । हामीले हालसम्म कोशी, मधेस, सुदुरपश्चिम र कर्णालीमा सम्पन्न गरेका छौँ । अब माघ २० गते बाग्मती, त्यसपछि निरन्तर गण्डकी र अन्तिममा चैत मसान्तभित्र लुम्बिनी प्रदेशमा अधिवेशन हुनेछ। चैत मसान्तभित्र हामीले सातवटै प्रदेशभित्र अधिवेशन गरेर कार्यसमिति चयन गरिसक्ने अठोट गरेका छौ ।

तपाईहरुले केही समय काउन्सिलको माग गरिरहनु भएको थियो । डिप्लोमा इन्जिनियर्स एसोसिएसन (डीन) लाई काउन्सिलको आवश्यकता किन ?

वास्तवमा भन्ने हो भने काउन्सिल हामीले भन्नुभन्दा राज्यले आफैले गर्नुपर्ने हो । यो काम राज्यले जसरी पनि गर्नु थियो कि हामीलाई नियमन गर्नुपर्ने संस्थाको त चेन अफ कमाण्ड हुनु पर्थ्यो। अर्को कुरा हामीकहा पनि राम्रो विद्यार्थी आएनन्।

जस्तो इन्डियालगायत अन्य ठाउँबाट राम्रो क्वालिटीको मान्छे आएनन् । ५० देखि ५५ प्रतिशत मात्र मुस्किलले पास भएर आएका छन् । त्यसकारण त्यसको गुणस्तर जाँच गर्ने, र आगामी दिनमा कुनै किसिमको बदमासी गर्दा काउन्सिलको नम्बर समेत खारेज गर्ने अवस्था हुन्छ । त्यसले गर्दा नियमन गर्ने संस्थाका रुपमा काउन्सिल हाम्रो लागि बहुत आवश्यक छ ।

डिप्लोमा इन्जिनियरिङ लगायत प्राविधिक क्षेत्रको भुमिका देश विकासमा महत्वपूर्ण मानिन्छ । तर प्राविधिकहरुले बदमासी गरे भन्ने चौतर्फी गुनासो पनि सुनिन्छ । यस्तो सुन्दा यहाँहरुलाई कस्तो लाग्छ ? यसतर्फ डीनको ध्यान गएको छ कि छैन ?

तपाईले महत्वपूर्ण कुरा उठाउनु भयो । यसरी प्राविधिकहरुको बदनामी हुनु भनेको राज्यका लागि पनि दूर्दशा हो । यसमा डीनको एकमत छ । यसमा सबैभन्दा महत्वपुर्ण जिम्मेवार त राज्य नै हो । राज्यले एकजना प्राविधिकको जिम्मामा ३०/३५ वटा योजनाहरु दिएको हुन्छ ।

उसले राम्रोसँग सुपरीवेक्षण गर्न पाउँदैन र देशमा अहिले भैरहेको राजनीतिक खिजातानी कर्मचारी माथि दबाबको कारणले गर्दाखेरी हाम्रा साथीहरुलाई अनावश्यक रुपमा फसाउन खोजिएको छ। काम नगरे उसको जागिरमा पनि असर पर्ने र गरे कानुनले समात्ने भएकोले साथीहरु कहिलेकाँही ठूलो चपेटामा पर्नुहुन्छ ।

म एउटै कुरा के भन्छु भने नेपाल सरकारले जबसम्म त्यो पिरामिड मिलाउँदैन्, तबसम्म यो समस्या रहिरहन्छ । यहाँ त भनेजस्तो जनशक्ति नै नभएर समस्या हुन थाल्यो । राज्यले यथोतित दरबन्दी दिएको भए अहिले म शिर ठाँडो बनाएर हिड्ने थिए । तर, राज्यले दरबन्दी नै नदिँदा अहिले हामीले शिर झुकाउनु परेको छ ।

कर्णालीमा हामीले कार्यक्रम राख्न सकेका छैनौँ। अबको दिनबाट कर्णाली पनि एउटा महत्वपुर्ण प्रदेशका रुपमा आउँछ । राज्यका ठुलाठुला ट्रेनिङ्ग, सेमिनारहरु राखेर सदस्यहरुको वृद्धि विकास र उनीहरूको स्किलको लागि केही काम गरिनेछ। सरकारले जुन गुणस्तरमा काम गर्नुपर्ने हो त्यस्तो खालका विकास निर्माणका काम गर्न सकिरहेको छैन ।

यस्तो हुनुमा सरकारले डिप्लोमा इन्जिनियरहरुको महत्व बुझेन । सीटीइभीटीले वर्षमा हजारौ जनशक्ति उत्पादन गर्छ तर ती जनशक्तिहरु हामीसँग जोडिन सक्नुभएको छैन । हामीले त भनेका छौ तपाईहरु कलेजबाट पास भएपछि ट्रेनिङ गरेपछि मात्रै फिल्डमा आउँनु होला भनेर । हामीले सीटीईभीटीलाई पनि प्रस्ताव गरेका छौ ।

जबसम्म डिप्लोमा इन्जिनियरहरुको महत्वलाई नजर–अन्दाज गरिन्छ, तबसम्म देशमा प्रभावकारी रुपमा विकास निर्माणका कार्यहरु अगाडी बढ्न सक्दैनन । जनप्रतिनिधिहरुले काम गर्नु अगाडि गर्नुपर्ने इष्टिमेट, काम भैसकेपछि मुल्याकंन गर्देउ भनेर डिप्लोमा इन्जिनियरहरुलाई काम लगाइरहेको अवस्था छ । सरकारी क्षेत्रले नियोजित रुपमा डिप्लोमा इन्जिनियरहरुलाई बदनाम गराई रहेका छन् ।

अन्तिममा केही भन्न बाँकी छ कि ?

राज्यलाई गुणस्तर आवश्यक छ भने भनेअनुसार पिरामिडको निर्माण गरोस् । त्यो अनुसारको दरबन्दी राखोस् । आज प्रशासनमा चाँही १० गुणा बढी दरबन्दी छ। तर, प्राविधिकहरुको दरबन्दी बढेको छैन् । राज्यले प्रशासनतर्फको दरबन्दी धमाधम बढाउँदै छ । उसलाई त्यसमा कुनै बन्देज छैन् । तर, प्राविधिकको दरबन्दी नथपेकोले गुणस्तरीय काम हुन सकेको छैन। त्यसैले राज्यले सकेसम्म प्राविधिकको दरबन्दी पनि बढाउने पहल चालोस् !

प्रकाशित मिति : २०८० पुस १० गते मंगलबार