सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको मुड्केचुला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले डक निर्माण योजनामा गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख शासकीय अधिकृत सिंहराज डाँगी, इन्जिनियर देवराज रावत, सब(इन्जिनियर दीप नारायण यादव, कार्यवाहक वडा अध्यक्ष, निर्माण उपभोक्ता समितिका अध्यक्षसहित आठ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेकाे हाे ।
आयोगले मुड्केचुला गाउँपालिकाको महादेव खोलादेखि घाम्टा खोलासम्म मोटर बाटो निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौँमा विहीवार मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता एवंं सूचना अधिकारी देवी प्रसाद थपलियाले जानकारी दिए ।
उनीहरुले आर्थिक वर्ष २०७६/०७७ मा उपभोक्ता समिति र गाउँपालिकाबिच सम्झौता भई सम्झौता बमोजिम स्वीकृत गरेपनि लागत अनुमानअनुसार काम नगरी भ्रष्टाचार गरेको आयोगको अनुसन्धानबाट खुलेको अधिकारी यादवको भनाइ छ । उनीहरुले गरेको काम भन्दा बढी देखाइ मिलोमतोमा १० लाख ९७ हजार ८५२ रुपैयाँ भ्रष्टाचार गरेको आयोगको ठहर छ ।
आयोगले मुड्केचुला गाउँपालिका–८ का तत्कालीन कार्यवाहक वडा अध्यक्ष धन बहादुर रोकाया, तत्कालीन कार्यपालिका सदस्य रामकुमार नेपाली वडा प्राविधिक (असिस्टेन्ट सबइन्जिनियर) इशारा बुढाविरुद्ध पनि मुद्दा लगाएको छ। उनीहरुले भए गरेको भन्दा बढी काम भएको कागज बनाउन भूमिका खेलेको अभियोग पत्रमा उल्लेख छ।