२०८३ असार २५ , बिहीबार

नातिको जिब्रो काटियो, हजुरआमा घाइते



सुर्खेत । रुकुम पश्चिममा एक युवकको जिब्रो काटिएको छ । चौरजहारी नगरपालिका वडा नम्बर १४ को रानागाउँका २२ वर्षीय वीरेन्द्र विकको जिब्रो काटिएको हो । जिब्रो कसले काटेको भनेर भने खुलिनसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यो घटना गत शुक्रवार रातिको हो । वीरेन्द्रकी हजुरआमा ८० वर्षीया थेबि कामीमाथि समेत कुटपिट भएको छ ।

हजुरआमा कराएपछि आफू हजुर आमा सुतेको ठाउँमा गएको र त्यहाँ भएका अपरिचित व्यक्तिले आफूलाई घरको झ्यालबाट बाहिर फालेको वीरेन्द्रले बयान दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले जानकारी दिए । डिएसपी भट्टराईकाअनुसार उनीहरू फरक फरक घरमा सुतिरहेका थिए । झ्यालबाट फालिएपछि भने आफूले केही थाहा नभएको वीरेन्द्रले बताएको उनले बताए ।

वीरेन्द्रको जिब्रोको टुप्पो काटिएको र उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीको भनाइ छ । आमाको मुखमा गहिरो चोट लागेको, दुई वटा दाँत भाँचिएको छन् । थेबिले पनि केही व्यक्तिले आफ्नो मुख छोपेको र त्यसपछि आफू बेहोस भएको जवाफ दिएको भट्टराईले बताए । उनीहरू को थिए भन्ने वीरेन्द्र र थेबि कोहीले पनि बताउन नसकेको प्रहरीको भनाइ छ ।

घटना शङ्कास्पद समेत देखिएको छ । ‘जिब्रो काट्ने कुरा सामान्य होइन, घटनाको प्रकृति हेर्दा गम्भीर देखिन्छ, वीरेन्द्र र थेविले दिएको बयानका आधारमा भने घटनामा शङ्का गर्ने ठाउँ देखिएका छन्, हामी अनुसन्धानमै छौँ, डिएसपी भट्टराईले भने ।’ घर परिवार र स्थानीयलाई बुझ्दा वीरेन्द्रलाई देउता चढ्ने गरेको र उनले विभिन्न अस्वाभाविक क्रियाकलापहरू देखाउने गरेको समेत खुल्न आएको डिएसपी भट्टराईले बताए ।

जिब्रो कसले काट्यो, कुन औजारको प्रयोग भयो भन्ने विषयमा अनुसन्धान चलिरहेको उनको भनाइ छ । वीरेन्द्र प्रदेश अस्पताल सुर्खेतबाट उपचारपछि घर फर्केको र र थेबिको उक्त अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । थेबिको मुखमा चोट लागेको बताइएको छ ।

प्रकाशित मिति : २०८० फागुन ७ गते सोमबार