
सुर्खेत । शनिवार राति पौने ९ बजे वीरेन्द्रनगर–१ गैरीगाउँ चोकमा एक जना युवकलाई लक्षित गर्दै गोली प्रहार भयो । गोली प्रहारबाट गाडीको सिसा फुटे पनि मानवीय क्षति भने भएन । तरुण दल सुर्खेतका जिल्ला सदस्य वीरेन्द्रनगर–१ का विनोद गिरीलाई लक्षित गरेर गोली प्रहार भएको र यसमा सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेलको हात रहेको तरुण दल सुर्खेतका अध्यक्ष एवम् नेपाली काँग्रेस सुर्खेतका सहसचिव हरि विष्टले स्टाटस लेखेर तत्काल जानकारी दिए।
गोली गाडीको सिसामा नलागेर ‘मिसफायर’ भएपछि गिरी बच्न सफल भए ।विष्टले शनिवार रातिदेखि लगातार फेसबुक स्टाटस लेखेर अध्यक्ष कँडेल माथि गोली प्रहारको योजना बनाएको भन्दै गम्भीर आरोप लगाए। विष्टले यो घटनालाई महोत्सवसँग रिसईवी साँध्ने अवसरका रूपमा पनि लिए। उनको स्ट्याटसले शनिवार साँझदेखि सुर्खेत प्रहरीले घटना विवरण सार्वजनिक नगर्दासम्म निक्कै सनसनीपूर्ण र रहस्यमयी बन्यो।
तर, प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार घटना महोत्सवसँग सम्बन्धित नभई वीरेन्द्रनगरका दुई युवा समूहबिचको दुश्मनीतर्फ केन्द्रित भएको छ। पक्राउ परेका राजन गिरी र प्रहरीले सन्दिग्ध फरार भनेको व्यक्तिबिचमा समन्वय भई विनोदमाथि प्रहार भएको प्रहरी श्रोतको अनुमान छ। वीरेन्द्रनगर १ र ४ का यी दुई युवाहरू नजिकका नातादार हुन।
आरोपित राजन र फरार सन्दिग्ध युवा र विनोदबिच नजिकको नाता सम्बन्ध छ। पहिला उनीहरू एकैसाथ हिँडडुल गर्ने, ठेक्कापट्टा गर्ने गरेकोमा ३र४ वर्ष अघिदेखि सम्बन्ध बिग्रँदै गएको छ। केही वर्षअघि सुर्खेतमा भएको घटनामा प्रहरीले सन्दिग्ध अनुमान गरेको व्यक्तिलाई मार्ने उद्देश्यले हमला भएको र हमलामा विनोदको हात रहेको भन्दै जाहेरी दिइएको थियो।
हमलामा तरबार प्रयोग गरेर पुरै हात काट्न खोजे पनि ती सन्दिग्ध व्यक्ति भाग्यवश कम चोट लागेर बाँच्न सफल भएका थिए। पछि परिवारका सदस्यहरूले हस्तक्षेप गरी मुद्दा अघि बढ्न दिएका थिएनन्।परिवारको दबाबमा मिलापत्र भए पनि उनीहरूबिचको दुश्मनी कायम रहिरहेको उनीहरूको पारिवारिक श्रोतले जानकारी दिएको छ। प्रहरीले सन्दिग्ध भनेका व्यक्ति अहिले वीरेन्द्रनगरमा विरलै भेटिन्छन्।
उनी मौकाको खोजीमा लुकिछिपी हिँडिरहेको वीरेन्द्रनगर १ घर भएका एक व्यक्तिले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिए। प्रहरीले घटनाबारे आइतबार अपराह्न जानकारी दिँदै यो घटनामा भारतीय सुटरको प्रयोग भएको सुरुवाती प्रतिक्रिया दिएको छ। वीरेन्द्रनगरमा केही वर्षयता व्यक्ति लक्षित गोली प्रहारका घटना भएका थिएनन् ।
तर, यो घटनापछि सुर्खेत प्रहरी गम्भीर बनेको र यसका अवयवहरूबारे गम्भीर अनुसन्धान गरिरहेको देखिन्छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले भारतीय सूटरलाई दुई लाख रुपैयाँ दिएर गिरीमाथि गोली प्रहार गर्न लगाएको बताएको छ । प्रहरीले घटनामा संलग्न भारतीय सूटरसहित योजना बनाउने केही व्यक्तिलाई पक्राउ गरिसकेको छ । कैलालीको गौरीगंगा नगरपालिका–२ का १८ को इन्द्र विकले यो अपराधीक सञ्जाल निर्माण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ ।
एक सन्दिग्ध व्यक्तिले (घटनामा संलग्न रहेको भनेर प्रहरीले शङ्का गरेको) विकसँग विगत डेढ महिनादेखि ह्वाट्सएपमा चिनजान गरेको र निरन्तर कुराकानी भएको जनाएको छ। करिब २०/२५ दिन अगाडि इन्द्र र प्रहरीले शङ्का गरेका व्यक्तिबिच कैलालीको अत्तरियामा भेट भएर सामान्य कुरा भएको थियो ।
प्रहरीले शङ्का गरेका ती व्यक्तिले करिब दुई हप्ताअघि इन्द्र विक, कैलालीकै गौरीगंगा–२ का १८ वर्षीय भरत भुल र भारतको उत्तर प्रदेश बिजनौर जिल्लाको दादानगरगञ्जस्थित जोसीपन मोहल्ला बस्ने १९ वर्षीय रोहित राजपूतलाई बोलाई घटनाको पूर्वयोजना बनाएको प्रारम्भिक अनुसन्धान गरी खुलासा गरेको छ । एक साताअघि इन्द्र र भरत भुललाई ती सन्दिग्ध व्यक्तिले फेरि नेपालगञ्ज बोलाएका थिए।
नेपालगञ्जमा भेट्दा शङ्का गरिएका व्यक्तिले ‘हामीसँग सूटर छ, सुर्खेत बस्ने विनोद गिरीलाई मार्नुपर्छ’ भनेर भनेका थिए। त्यसबापत उनीहरूलाई डेढ लाख रुपैयाँ दिने कुरा भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार प्रेस मिट मार्फत जनाएको छ । शङ्का गरिएको व्यक्तिले इन्द्र विकलाई एक नाल कटुवा पेस्तोल र दुई राउण्ड गोली उपलब्ध गराएका थिए।
त्यसको दुई दिनपछि भारतका (सूटर) रोहित राजपूत, इन्द्र विक, भरत भुल र सन्दिग्ध व्यक्ति नेपालगञ्जमा भेटेर थप योजना बनाएका थिए। योजना बनाउने व्यक्तिले सूटर भनिएका राजपूतलाई दुई लाख रुपैयाँ दिने सहमति गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काले बताए । सूटर भनिएका राजपूत र उनका सहयोगी फागुन ७ गते वीरेन्द्रनगरमा आएका थिए।
उनी वीरेन्द्रनगर–४ मा रहेको गणेश होटेलमा बसेका थिए। उनीहरूलाई वीरेन्द्रनगर–४ का ३७ वर्षीय राजन गिरीले होटेलमा बस्ने व्यवस्था मिलाइदिएको प्रहरीले जनाएको छ । पुनः फागुन ९ गते भरत भुलले एक जनालाई भे ५ प ६०६१ नम्बरको मोटरसाइकल उपलब्ध गराई योजनाबद्ध रूपमा सुर्खेत बसालेका थिए। होटेलमा सूटर राजपूतसहित अन्य तीन जना थिए ।
ती सन्दिग्ध व्यक्तिले प्रतिवादीहरू (सूटरसहितका घटनामा संलग्न) लाई विनोद गिरीको घर तथा ठेगाना देखाइदिएका थिए । समग्र योजनापछि शनिवार राति विनोद गिरीको निजी गाडीलाई प्रतिवादीहरूको मोटरसाइकलले पछ्याउँदै वीरेन्द्रनगर–१ गैरीगाउँ चोकमा गोली प्रहार गरेको थियो। गोली प्रहार गरे लगत्तै अभियुक्तहरूले चलाएको मोटरसाइकल र विनोदको गाडी एक आपसमा ठोक्किएका थिए ।
मोटरसाइकल शङ्कास्पद हिसाबले नजिकै आइरहेको अनुमान गरेका विनोदले गाडी ठोक्काएर ज्यान बचाउन सफल भएको स्थानीयहरूले अनुमान गरेका छन्। मोटरसाइकल नठोक्काएको भए विनोदलाई गोली लाग्न सक्ने उनीहरूको ठम्याइ छ। प्रहरीले गोली प्रहार गर्ने भारतीय नागरिक रोहित, मोटरसाइकल चलाउने चालक इन्द्र, भरत भुल र सूटरलाई होटेलको व्यवस्थापन गरिदिने राजन गिरीलाई पक्राउ गरिसकेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।
