
कुलेन्द्र शाही, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले दिसाजन्य लेदो र फोहोरमैला व्यवस्थापनबाट आम्दानी गर्न सुरू गरेको छ । विगतका वर्षहरुमा विकास बजेटबाट फोहोर व्यवस्थापनमा खर्च गर्दै आएको नगरपालिकाले हाल फोहोरबाट आम्दानी गर्न थालेको जानकारी दिइएको हो ।
केही वर्ष पहिले विकास बजेटमा फोहोर व्यवस्थापन गर्नुुपर्नेमा हाल फोहोर व्यवस्थापनमा विकास बजेट खर्च गर्नुपर्ने अवस्था नभएको वीरेन्द्रनगर नगरपालिकाको योजना तथा वातावरण शाखा प्रमुख प्रकाश पौडेलले बताए । उनले अहिले फोहोरबाट आम्दानी सुरू भएको समेत जानकारी दिए ।
प्रमुख पौडेलले नेपालकै उत्कृष्ट मानव मलमुत्र व्यवस्थापन प्लान्ट (एकिकत फोहोर व्यवस्थापन) का लागि जग्गा प्राप्त गरी डिपीआर तयार भई श्रोतको खोजीमा नगरपालिका जुटेको बताए । यस्तै वीरेन्द्रनगर ८ को समुदायस्तरमा नै फोहोर व्यवस्थापन सुरू गरिएको उनको भनाइ छ ।
वीरेन्द्रनगरको प्रगति नगरमा कौशीखेती सुरू गरिएको करिब ३५ करोडको लागतमा वातावरण मैत्री वीरेन्द्रनगर १ तारेभिरमा दिशाजन्य फोहोरको दीगो व्यवस्थापन सुरू गरेको, कुहिने फोहोरबाट जैविक मल र ग्यास उत्पादन सुरू गरेको, अस्पताल र नर्सिङ होमबाट उत्पादन हुने अर्थक्लेप सुरू गरेको सुरू गरेको, स्मार्ट शौचालय सञ्चालन गरेको लगायतका काम सुरू गरेको प्रमुख पौडेलले बताए ।
वीरेन्द्रनगरमा दैनिक ३० टन जति फोहोर उत्पादन हुँदै आएको छ । जसमध्ये ५७ देखि ६० प्रतिशत फोहोर कुहिने फोहोर उत्पादन हुने गरेको छ । कुल उत्पादित फोहोर मध्ये १९ टन फोहोर अनिवार्य व्यवस्थापन गर्नुपर्ने रहेको बाध्यता छ। बाँकी ११ टन फोहोर भने स्थानीय स्तरमै व्यवस्थापन हुँदै आएको वीरेन्द्रनगरले जनाएको छ ।
जसमध्ये प्रत्येक दिन ५ जनाको एउटा घरबाट तीनसय ग्राम फोहोर उत्पादन हुने गरेको छ भने हरेक दिन ५ ट्रक दिशाजन्य फोहोर व्यवस्थापन हुँदै आएको छ ।
फोहोर व्यवस्थापनमा वीरेन्द्रनगर सर्वोत्कृष्ट
यस्तै फोहोर व्यवस्थापनमा उत्कृष्ट काम गरेको भन्दै वीरेन्द्रनगरलाई नेपाल नगरपालिका संघबाट वन वातावरण तथा उत्थानशील सर्वोत्कृष्ट नगर २०७९ बाट पुरस्कृत समेत भएको थियो । नगरपालिका ६५ नम्बर प्राप्त गरेर सर्वोत्कृष्ट भएको हो ।
वीरेन्द्रनगरलाई स्वच्छ र सुन्दर नगर बनाउन जागरण अभियान र संरचना निर्माणलाई अझ तीव्रता दिइएको जनाएको छ । यस्तै नगरपालिकालाई प्लाष्टिक झोला प्रयोग रहित बनाउने योजना समेत नगरपालिकाले लिएको छ । यस्तै वडा नम्बर ८ ले पनि आफ्नो वडालाई प्लाष्टिक झोलामक्त वडा बनाउने भन्दै यसअघि नै सुचना जारी गरिसकेको छ ।
साथै उक्त वडाले माघ १ गतेबाट ‘मेरो पकेट, मेरो डष्टविन नारा’ का साथ आफ्नो क्षेत्रभित्रको जैविक एवम् कुहिने फोहोर, हरियाली वातावरण र प्लाष्टिक व्यवस्थापनका लागि विशेष अभियान समेत थालनी गरिसकेको छ ।
नगरपालिकाले बनाएका यस्ता कानुन
वीरेन्द्रनगरको फोहोर व्यवस्थापनलाई सहज र दीर्घकालीन बनाउन नगरपालिकाले विभिन्न कानुनहरू बनाएको छ । तर, ती कनुनहरु भने कसैले पनि पालना गरेको पाइदैन् ।
कार्यपालिकाले तोकि दिएको समय र स्थान बाहेक अन्यन्त्र फोहोर मैला निश्कासन गर्नैलाई पाँच हजारदेखि १५ हजारसम्म जरिवाना र फोहोर व्यवस्थापन गर्न लाग्ने खर्च समेत असुल गर्ने कानुनी व्यवस्था गरेको छ । तर, यो कानुन भने लागु भएको देखिँदैन् ।
यस्तै कण्टेनर वा फोहोरमैला संकलन केन्द्रमा राखिएको फोहोरमैला अनाधिकृत तवरले प्रयोग गर्नेलाई ५ सयदेखि ५ लाख रूपैयाँसम्म जरिवाना गर्ने, फोहोरमैला संकलन केन्द्रमा राखिएको कण्टेनर तोडफोड गर्ने क्षति पु¥याउने, हटाउने वा संकलन केन्द्रमा कुनै नोक्सानी पु¥याउनेलाई १५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गरी कण्टेनर वा संकलन केन्द्र व्यवस्थापन गर्न लाग्ने खर्च असुल उपर गर्न लगाउने व्यस्था छ ।
रासायनिक, औद्योगिक, स्वास्थ्य संस्थाजन्य फोहरमैला वा हानिकारक फोहर जथाभावी फाल्ने, राख्ने वा निष्काशन गर्ने र औद्योगिक प्रतिष्ठान वा स्वास्थ्य संस्थाले उद्योग वा स्वास्थ्य संस्थाबाट निस्कने हानिकारक फोहरमैला जथाभावी फाल्ने, राख्ने वा निष्काशन गर्ने वा गराउनेलाई ५० हजार देखि १ लाखसम्म जरिवाना र सोही कसूर पुनः गरेमा दोब्बर जरिवाना गरी अनुमति रद्द गर्नको लागि सम्बन्धित निकायमा पठाउने व्यवस्था छ ।
आफ्नो फोहोरको व्यवस्थापन आफैले गरौ : अधिकृत डाँगी
वीरेन्द्रनगर नगरपालिकाका प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले आफ्नो फोहोरको व्यवस्थापन आफैले गर्नुपर्ने बताए । उनले कागज र कपडाको झोला प्रयोग गर्नेलाई प्रोत्साहित गर्ने र नगरलाई प्लाष्टिक झोलारहित नगर बनाउनको लागि सबैको हातेमालो हुनुपर्ने बताए ।
वीरेन्द्रनगरलाई हरियाली सहर बनाउन सबैको उद्देश्य उत्तिकै महत्वपूर्ण रहेको उनको भनाई छ ।अधिकृत डाँगीले कुनैपनि काम गर्न मनदेखि नै लाग्नुपर्ने बताए । फोहोरको व्यवस्था गर्नका लागि वडास्थरबाट प्लाष्टिक झोला रहित बनाउनुपर्नेमा जोड दिएएको उनको भनाइ छ ।
विगत लामो समयदेखि घर आगन, कार्यालय र सार्वजनिक स्थल हरित बनाउन नगरपालिका लागिरिरहेको उनले बताए । उनले रुख, विरुवा, बगैचा र पार्कहरुको संरक्षण गर्नतर्फ सबै अग्रसर हुन् आग्रह गरे ।
यस्ता छन् चुनौती तथा समस्या
वातावरण शाखा प्रमुख पौडेलले नगरपालिकालाई फोहोरमुक्त पालिका बनाउनलाई विभिन्न समस्या भएको बताए । उनले फोहोरको सेग्रीकेशन विनानै व्यवस्थापन गर्नु परेको बताउँदै जुनसुकै समयमा फोहोर निश्कासन गर्ने गरेको हुँदा यसले धेरै नै समस्या भएको बताए ।
यस्तै फोहोर व्यवस्थापन गर्ने नीजि क्षेत्र परिपक्व र जवाफदेही हुन नसकेको, व्यवस्थित ल्याण्डफील साइट निर्माणमा श्रोत जुटाउन नसकिएको, जथाभावि फोहोर गर्नेहरुलाई दण्ड जरिवाना प्रभावकारी रुपमा कार्यान्वयन गर्न नसकिएको समस्या उल्लेख गरे ।
उनले प्लाष्टीक जन्य सामाग्री तथा झोलाको प्रयोग र प्लाष्टीक जलाउने प्रवृति बढी मात्रामा भएको, खुल्ला नालाका कारण नालाहरु कन्टेनरमा परिणत हुने गरेको, सरसफाई तथा स्वच्छताका अभियानहरु दीगो नभएको, सवारी संख्या नियमन मापदण्ड नभएको, पेट्रोलिम सवारी साधनको संख्या दिनप्रतिदिन बढ्दै गएको, कृषिमा विषादीको प्रयोग नागरिकहरुलाई वायू प्रदुषणका वारेमा प्रभावकारी सचेतना गर्न नसकिएको लगायतका समस्याहरु राखेका थिए । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।