समाचार चोरी गर्ने १ सय ८३ अनलाइन काउन्सिलको कारबाहीमा

खबरदृष्टि सम्वाददाता १६ फाल्गुन २०८०, बुधबार १८:३०

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पछिल्लो डेढ वर्षमा १ सय ८३ अनलाइनलाई समाचार चोरीअन्तर्गत कारबाही गरेको छ । काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै समाचार हुबहु चोरी गरी सार्ने अनलाइनलार्इ कारबाही गरेको हो ।

गत आवदेखि हालसम्म (कपि एन्ड पेस्ट गर्ने), अनुमति नलिने १८३ अनलाइन सञ्चारमाध्यम तथा वेब पोर्टललाई कारबाही गरेको प्रेस काउन्सिलको विज्ञप्तिमा उल्लेख छ । कारबाहीमा परेकामध्ये १ सय ४३ सञ्चार माध्यमलाई स्पष्टीकरण सोधिएको, ११ वटालाई सचेत गराइएको काउन्सिलले जनाएको छ ।

स्पष्टीकरण सोधिएका अधिकांश मिडियाबाट आगामी दिनमा त्यस्तो कार्य नगर्ने भनी प्रतिबद्धतासहित जवाफ पेस भएको थियो । मिडियाका रूपमा दर्ता सूचीकरण नभएका २९ वेब पोर्टललाई आवश्यक कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भएको काउन्सिलका सह प्रशासकीय अधिकृत रामशरण बोहराले बताए ।

बुधवार प्रेस काउन्सिल पत्रकार आचारसंहिता अनुगमन उपसमितिको बैठकसमेत बसेको थियो । बैठकले हुबहु प्रवृत्ति निरुत्साहित गर्न थप कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । बैठकमा ८९ वटा मिडियालाई सचेत गराउने निर्णय भएको छ ।

‘आगामी दिनमा बिना अनुमति हुबहु प्रकाशन नगर्न र नगराउन ध्यानाकर्षण गराउने र पुनः त्यस्तो प्रवृत्ति पुनरावृत्ति भएको उजुरी तथा गुनासो प्राप्त भएमा प्रचलित कानुन तथा आचारसंहिता बमोजिम थप कारबाही हुनेतर्फ सचेत गराउने निर्णय गरिएको हो ।

त्यस्तै, एकलाई भुल सुधार गर्न र एकलाई खण्डन प्रकाशन गर्न निर्देशन दिने र एक सञ्चारमाध्यमको जवाफ चित्तबुझ्दो नदेखिएकोप्रति सम्पादकलाई छलफलमा बोलाउने निर्णय गरेको छ’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको उपसमितिको बैठकमा नेपाल पत्रकार महासङ्घका अध्यक्षसमेत रहेका काउन्सिल सदस्य विपुल पोखरेल, काउन्सिलका सदस्यहरू दीपक पाण्डे, दुर्गा भण्डारी पौडेल, ठाकुर बेलबासे, लालबाबु शेख, शरदप्रसाद अधिकारी, गणेशप्रसाद पोख्रेल तथा बार एसोसिएसनका तर्फबाट प्रतिनिधि महासचिव अञ्जिता खनाल र काउन्सिलका सह प्रशासकीय अधिकृत एवं सह प्रवक्ता रामशरण बोहराको सहभागिता रहेको थियो ।

काउन्सिलमा २०८० साउनदेखि फागुन १५ गतेसम्म विभिन्न मिडियाविरुद्ध २२० वटा उजुरी, १२ जनगुनासा दर्ता भएका छन् । पछिल्लो तीन महिनामा ५१ उजुरी, २ जनगुनासोसहित ५३ वटा उजुरी दर्ता भएको छ भने यस अवधिमा अघिल्लो आव समेतको गरी १६० वटा उजुरी फर्छ्यौट भएका छन् ।

Next Post

जीवनका १५ वर्ष ओछ्यानमै बिताइरहेका कर्णबहादुर भन्छन् – केही नहुनेको कोही नहुने रहेछ

१६ फाल्गुन २०८०, बुधबार १८:३०
कुलेन्द्र शाही, सुर्खेत । वीरेन्द्रनगर–१० पठान टोलका कर्णबहादुर नेपाली ५४ वर्षका भए। यसमध्येको १५ वर्ष उमेर उनले ओछ्यानमै बिताएका छन् । ३९ वर्षको उमेरदेखि उनी ओछ्यानमा सुतिरहेका छन् । कर्ण त्यति बेलादेखि ओछ्यानमा छन्, जतिबेला उनी एउटा विद्यालयको रुख काट्ने काम गर्न गएका थिए । आज भन्दा १५ वर्षअघि २०६५ […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031