२०८३ वैशाख १४ , सोमबार

सुर्खेतमा पुनः कोरोनाविरुद्धको खोप लगाइने



सुर्खेत । सुर्खेतमा कोरोनाविरुद्धको खोप अभियान पुनः सञ्चालन हुने भएको छ । १ चैतमा सुरु हुने अभियानमा कोरोना भाइरसको बुस्टर डोज लगाउन छुटेका विशेष गरी १२ वर्षमाथिको उमेर समूहलाई समेट्ने लक्ष्य राखिएको छ ।

बुधबार वीरेन्द्रनगरमा आयोजित कोभिड १९ विरुद्धको खोप कार्यक्रमका लागि जिल्ला खोप समन्वय समितिको बैठकमा जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले कोरोनाको बुस्टर डोजको कम कभरेज भएका पालिकामा खोप अभियान सञ्चालन गर्न लागेको बताए ।

स्वास्थ्य सेवा कार्यालयको आयोजना तथा इपिक नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कोरोना–१९ विरुद्धको फाइजर खोप सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, पञ्चपूरी नगरपालिका, चौकुने गाँउपालिका र चिगांड गाउँपालिकामा १ चैतदेखि ३ गतेसम्म सञ्चालन हुने उनले बताए ।

अभियानमा यी पालिकाअन्तर्गत पर्ने स्वास्थ्य संस्थामा ४४ वटा खोप केन्द्रमार्फत १९ हजार ८ सय डोज फाइजर खोप लगाइने छ, जसका लागि चारवटै स्थानीय तहमा ३ हजार तीन सयका दरले खोप पठाइसकिएको उनले बताए ।

गौतमका अनुसार सुर्खेत जिल्लामा कोभिड १९ विरुद्धको पहिलो डोज ९१ दशमलव ६ प्रतिशत, दोस्रो डोज ८० दशमलव ९ प्रतिशत नागरिकले लगाएका छन् । त्यस्तै, पहिलो बुस्टर ३६ दशमलव ८ प्रतिशत र दोस्रो बुस्टर १ दशमलव ४ प्रतिशत नागरिकले मात्रै लगाएका छन् ।

प्रकाशित मिति : २०८० फागुन ३० गते बुधबार