
सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न रोजगार रणनीति निर्माण गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष ऐन बहादुर चन्दले सिम्तावासीहरुलाई रोजगारीमा जोड्नका लागि चालु आर्थिक वर्षभित्रमै रोजगार रणनीति निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी युवाहरूले रोजगारीका लागि गाउँपालिकाको नीति बारे प्रश्न गरेपछि अध्यक्ष चन्दले त्यसको जवाफमा तत्कालै रोजगार रणनीति निर्माण कार्य अघि बढाउने प्रतिबद्धता जनाएका हुन् । अध्यक्ष चन्दले चैत ४ गते बस्ने कार्यपालिका बैठकमा रणनीति निर्माणका बारेमा एजेण्डा समावेश गर्न विधायन समितिलाई निर्देशन समेत दिएका छन् ।
उनले आगामी वर्षदेखि गाउँपालिकाबाट सञ्चालन गरिने विकास निर्माणका काममा स्थानीयलाई रोजगारी दिने गरी योजना बनाउने बताए । विदेशबाट फर्किएका युवाहरूलाई त्यहाँ सिकेको सीप प्रयोग गरी व्यवसाय सुरु गर्न आग्रह गर्दै आवश्यक सहयोग गर्न गाउँपालिका तयार रहेको बताए ।
यस्तै सहभागीले उठाएका सवालका आधारमा सार्वजनिक सुनुवाइमा विभिन्न पाँच बुँदे प्रतिबद्धता गरिएको छ । चालु आर्थिक वर्षभित्रै रोजगार रणनीति निर्माण गर्ने, गौशाला व्यवस्थित गर्ने, सबै वडा कार्यालयमा नागरिक वडापत्रको व्यवस्था गर्ने, बाल विकास केन्द्रहरूको रेखाङ्कन गरी पुनः वितरण गर्ने तथा महिला स्वास्थ्य स्वयंसेविका र आमा समूहका लागि प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता गरिएको हो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गोमा शर्मा रेग्मीले गुणस्तरीय विकासका लागि सबै नागरिक जिम्मेवार हुनुपर्नेमा जोड दिइन् । उनले गाउँपालिकाभित्र सञ्चालन हुने विकास निर्माण कार्यहरू आफ्नै लागि हुन भन्ने हेतुले सही तरिकाबाट निर्माण र प्रयोग गर्नुपर्ने बताइन् ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले सिम्ता गाउँपालिकालाई डिजिटल प्रविधिमैत्री, छरितो सेवा र सुशासनयुक्त बनाउनका लागि अहोरात्र लागिरहेको बताए । उनले गाउँपालिकाले लिएका लक्ष्य उद्देश्य पूरा गर्नका लागि कर्मचारी, जनप्रतिनिधि र सेवाग्राही नागरिक सबै आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने बताए ।
कार्यक्रममा सहभागीहरूले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्नुपर्ने, कृषि र पशु प्राविधिक सेवा प्रभावकारी बनाउनुपर्ने, तरकारी सङ्कलन केन्द्र सञ्चालन गर्नुपर्ने, गौशालालाई व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने, विद्युतिकरण गर्नुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने लगायतका विषयमा जिज्ञासा एवं सुझाव राखेका थिए ।