२०८३ असार २३ , मंगलबार

गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



हुम्ला । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । खानेपानी मर्मत योजनामा आर्थिक अनियमितता गरेको अभियोगमा गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाई र प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित ९ जनाविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको हाे ।

आयोगका प्रवक्ता नरहरि घिमिरेकाअनुसार गाउँपालिकाका इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्ली मगर र सब-इन्जिनियर हर्कधन बुढासहित उपभोक्ता समितिका अध्यक्ष कालीबहादुर बुढा, सचिव रतन बुढा र कोषाध्यक्ष बिरकुल्ली बुढाविरुद्ध मुद्दा दायर भएको हो ।

आर्थिक वर्ष २०७४/०७५ मा खानेपानी मर्मत योजनाको फिल्डमा काम नै नभए पनि काम सम्पन्न भएको भन्दै ५ लाख १५ हजार १०८ रुपैयाँ बढी भुक्तानी दिई भ्रष्टाचार गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

उनीहरूले नापी किताब बमोजिम काम नभए पनि काम भएको भनी प्रतिवेदन बनाउने र उपभोक्तासम्बन्धी झुट्टा बिल भरपाई तयार गर्ने, चेक गर्ने र टिप्पणीमा सही गर्ने कार्य गरेको अख्तियारको ठहर छ ।

चंखेली गाउँपालिका-३ का तत्कालीन वडाध्यक्ष सालीग्राम ऐडीले निर्माण कार्य सम्पन्न भई प्राविधिक अनुगमन मूल्यांकन भइसकेको भन्ने समेत व्यहोरा उल्लेख गरी भुक्तानीको लागि सिफारिस गरेको देखिँदा उनीविरुद्ध पनि मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : २०८० चैत १ गते बिहीबार