२०८३ वैशाख १३ , आइतबार

कर्णाली संगठन सुदृढ यात्रामा कांग्रेस युवा नेता शाही



सुर्खेत । नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले संगठन सुदृढीकरणको यात्रामा शुक्रबारदेखि कर्णालीका दश जिल्लाको यात्रा तय गरेका छन् । शाहीले सल्यानको कपुरकोटदेखि यात्रा तय गरेको उनको सचिवालयले जनाएको छ । उनी सल्यान, रुकुम पश्चिम हुँदै विकट जिल्ला डोल्पा पुगेका छन् ।

कांग्रेसलाई सशक्त, सवल, प्रभावकारी, सुदृढ, लोकप्रिय, बलियो र गतिशील बनाउने उद्देश्यका साथ प्रदेशका जिल्लाहरुको यात्रामा लागेका हुन् । ‘पार्टीलाई राम्रो बनाउने हामी सबैको दायित्व हो, यसलाई आत्मसात गर्दै कांग्रेस संगठन सुदृढ यात्रा गर्न थालेको छु,’ उनले भने । पार्टीका लागि गरिएको यो यात्रा प्रभावकारी हुनेमा ढुक्क रहेको उनको भनाइ छ ।

उनले संगठन सुदृढीकरण यात्राअन्तर्गत सल्यानको कपुरकोटदेखि हुम्लाको सिमिकोटसम्म पुग्ने योजना बनाएका छन् । कांग्रेसको गौरवपूर्ण इतिहासलाई कायम राख्न अनुभवी पुस्तालाई सम्मान र वर्तमान पुस्ताको ऊर्जालाई अभिवृद्धि गर्ने अभियानको क्रममा अग्रज पुस्तादेखि युवा पुस्तासम्मको भेटघाट, छलफल, बहस, अन्तरक्रियाको माध्यमबाट पार्टीलाई भावनात्मकरुपमा एकताबद्ध बनाउने प्रयास गर्ने उनले बताए ।

संगठनलाई बलियो र सशक्त बनाउँदै पार्टीलाई थप उर्जाशील र गतिशील बनाउनु अभियानको मूल उद्देश्य रहेको बताउँदै उनले पार्टीलाई चलायमान र जागृत गर्दै भ्रातृ संस्था तथा शुभेच्छुक संस्थाहरुका नेता, पार्टीका कार्यकर्तामा नयाँ आशा, भरोसा र नयाँ ऊर्जा थप्ने प्रयास यात्राको क्रममा गरिने बताए । पार्टीलाई जनतासँग र जनताको भावनालाई पार्टीसँग जोड्न आफ्नो अभियानले भूमिका खेल्ने उनले बताए ।

यात्राका क्रममा पार्टीको तल्लो तहमा रहेको नेता तथा कार्यकर्ताहरुसँग भेटघाट गर्ने, लोकतान्त्रिक व्यवस्थामाथि देखिएका चुनौतीहरु समेत अभियानमार्फत केलाइने उनले बताए । कर्णालीका जिल्लाहरुमा संगठन सुदृढ यात्रा एक महिनाभन्दा बढी चल्ने छ । पहिलो चरणमा पाँच वटा जिल्लामा यात्राको तालिका तय गरिएको छ ।

शाहीले चैत २ र ३ गते सल्यान जिल्लाको कपुरकोटबाट अभियान शुरु गरी चैत ४ र ५ गते रुकुम पश्चिममा अभियान गरेर ६ र ७ गते डोल्पामा पुगेका छन् । ८ र ९ गते जाजरकोट, १० र ११ गते दैलेख पुग्नेछन् । सुर्खेत, कालीकोट, जुम्ला, मुगु र हुम्लाका कार्यक्रम त्यसपछि मात्र तय गरिने शाहीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० चैत ७ गते बुधबार