
सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेसले विभिन्न आन्दोलन र क्रान्तिप्रति धोका दिँदै आइरहेको बताएका छन् । बिहीबार एमाले सुर्खेतको नवौँ अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले विपी कोइरालाको कम्युनिष्ट पार्टीसँग सहकार्य नगर्ने मान्यताका कारण नै पञ्चायत ३० बर्षसम्म रहनुको कारण बनेको उनले बताए । विपीका कारण पुष्पलालका नीतिहरु उहाँको जीवनकालसम्म लागु हुन नसकेको पनि उनले बताए ।
कम्युनिष्टहरुलाई लडाएर लाभ कसरी लिन सकिन्छ ? भन्नेतर्फ नै कांग्रेस अग्रसर रहेको पनि उनको भनाई छ । ‘नेपालको राजनीतिक अस्थिर हुनुको कारण पनि कांग्रेस हो,’उनले भने, ‘विचारका आधारमा होइन स्वार्थका कारण राजनीतिक गर्ने काम गरिरहेको छ ।’ उनले जनताको जीवन परिवर्तन ल्याउनका लागि भूमिका खेल्न एमाले तयार हुनुपर्ने बताए ।
तर, एमालेमा जनतामा जाने कुरा पहिलाभन्दा अहिले घटेको उनको भनाई थियो । जनताका बिचमा घनिष्ट रुपमा पार्टीलाई स्थापित गर्नुपर्ने पोखरेलले बताए । विचार नमिल्ने स्वार्थ केन्द्रीत गठबन्धनले गर्दा जनतामा निराशा बढीरहेको पनि उनले बताए ।
‘जनताले सर्वाधिक लोकप्रिय मतका साथ पहिलो पार्टी बनाएका जनताले सिटका आधारमा पहिलो स्थान नहुँदा शासन गर्न पाएन,’उनले भने, ‘अहिले समान विचार बोक्नेहरुका बिचमा सहकार्य गर्ने गरी अगाडि बढाउनुपर्छ भनेर नयाँ गठबन्धन बनेको हो ।’