
सुर्खेत । कर्णाली प्रदेशमा अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि अभियान सञ्चालन गरिएको छ। राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशले फ्रिडम फोरम नेपालसँगकोे सहकार्यमा अभियान सञ्चालन गरेको हो। संविधानमा व्यवस्था भएका मौलिक हकबारे अभियान मार्फत जानकारी गराउँन प्रदेश स्तरीय कार्य समूह पनि गठन भएको छ।
आयोग कर्णाली प्रदेशका प्रमुख लोकनाथ बास्तोलाले अभिव्यक्ति स्वतन्त्रताको संरक्षणको लागि प्रदेशस्तरीय समिति गठन गरिएको बताए। “अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि सुरक्षा संयन्त्र गठन तथा कार्यविधि सम्बन्धी निर्देशिका जारी भएको अवस्था छ,” वास्तोलाले भने, “निर्देशिकामा व्यवस्था भएबमोजिम कार्यसमूह निर्माणसँगै अन्य कार्यक्रम सञ्चालन गर्नेछौं।”
उनका अनुसार पछिल्लो समय अभिव्यक्ति स्वतन्त्रताको रक्षाका निम्ति आवाज उठाउने संघ संस्था र व्यक्तिलाई नै धम्की दिने गरिएकाले उनीहरूको रक्षाको लागि समितिले काम गर्नेछ। आयोगका प्रदेश प्रमुख बास्तोलाको संयोजकत्वमा गठिन सात सदस्यीय कार्यसमूहमा मुख्यमन्त्री कार्यालय, मुख्य न्यायाधिवक्ताको कार्यालय, प्रदेश प्रहरी कार्यालय, उच्च अदालत बार एशोसिएशन, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र गैर सरकारी संस्था महासंघका प्रतिनिधि सदस्य रहनेछन्।